सम्हालिन नसक्दा नेपालको हार, क्यानडा चार विकेटले विजयी-Sutra News

सम्हालिन नसक्दा नेपालको हार, क्यानडा चार विकेटले विजयी

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि २० शृङ्खलाअन्तर्गत सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग चार विकेटले स्तब्ध भएको छ ।



प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९ औँ ओभरमा दुई छक्का र एक चौकाको सहयोगमा १८ रन जोडेपछि क्यानडाले जित आफ्नो पक्षमा पार्‍यो ।

क्यानडाको किङ सिटीमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालको सुरुआत राम्रो रह्यो । पहिलो विकेटका लागि अनिल साह र आशिफ शेखले ७० रनको साझेदारी गरे ।

त्यसपछि नेपालले लय बिग्रियो । दसौँ ओभरको पहिलो बलमा हर्ष ठाकरले अनिल साहको विकेट लिए । त्यसपछि सोही ओभरमा नेपालले चार रन थप्यो ।

तीन ओभरमा १० रन जोड्दा तीन विकेट गुमाएको नेपाल त्यसपछि दबाबमा पर्‍यो । तेह्रौँ ओभरमा जम्मा दुई रन आयो भने १४ औँ ओभरमा नेपालले कुशल मल्लका रुपमा चौथो विकेट गुमायो ।

पहिलो नौ ओभरमा सात दशमलव ४० को औसतले रन बनाएको नेपालले पारी सकिँदा छ दशमलव ९५ औसतमा १३९ रन मात्रै बनाउन सक्यो ।

नेपाललाई मध्यमक्रममा समेट्ने क्रममा क्यानडाका लागि हर्ष ठाकरले दुई विकेट लिए । साथै दिलोन हेलिङ्गर, अखिल कुमार, प्रवीण कुमार र साद विन जफरले समान एकरएक विकेट झारे ।

१४० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको क्यानडाको सुरुआत मध्यम रह्यो । पहिलो छ ओभरमा क्यानडाले एक विकेटको क्षतिमा ३४ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि पहिलो दुई विकेट लिँदै ललित राजवंशीले केही आशा जगाए । क्यानडाले दोस्रो विकेट आठौँ ओभरको पाँचौ बलमा गुमायो । हर्ष ठाकरलाई व्यक्तिगत ११ रनमा रोक्दै पवेलियन फर्काए ।

त्यसपछि नेपालले १२ औँ ओभरमा महत्वपूर्ण दुई वटा सफलता प्राप्त गर्यो । उक्त ओभरको तेस्रो बलमा सोमपाल कामीले निकोलस किर्तनलाई व्यक्तिगत २६ रनमा आउट गरे ।

त्यसपछि क्यानडाको रनको गति सुस्त भयो । उसले १३ औँ ओभरमा एक चौकासहित छ रन जोड्यो भने १४ औँ ओभरमा जम्मा तीन रन मात्रै थप्यो ।

नेपालका लागि सन्दीप लामिछानेले १५ औँ ओभरमा थप दुई सफलता दिलाए । क्यानडालाई अन्तिम पाँच ओभरमा १० रनको औसतले ५० रन बनाउनु पर्ने थियो ।

सोह्रौँ ओभरमा क्यानडाले एक चौकासहित आठ रन र १७ औँ ओभरमा एक चौकासहित नौ रन जोड्यो । त्यसैगरी १८ औँ ओभरमा सोमपाल कामीले एक चौका र नो बलसहित १२ रन खर्चिए ।

उन्नाइसौँ ओभरमा बलिङका लागि आएका करण केसीले महत्वपूर्ण १८ रन दिए । क्यानडालाई अन्तिम ओभरमा तीन रन आवश्यक भयो ।

अन्तिम ओभरको पहिलो बलमा दीपेन्द्र सिंह ऐरीले एक रन खर्चिए । त्यसपछि क्यानडाले वाइडमार्फत अतिरिक्त एक रन प्राप्त गर्दा स्कोर बराबरीमा पुग्यो । उक्त ओभरको तेस्रो बलमा जफरले विजयी रन प्रहार गरे । शृङ्खलाअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल बुधबार ओमानविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट