फेरि भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउन प्राधिकरणकाे आग्रह-Sutra News

फेरि भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउन प्राधिकरणकाे आग्रह

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबका केही दिन बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले यस्ताे आग्रह गरेकाे हाे ।



प्राधिकरणले असोज १० गतेदेखि परेको पानीले जमिन गलेकाले पहिराको जोखिम थपिएकाे जनाएकाे छ । ‘जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार असोज १६ गतेदेखि दिउँसो बागमती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा एवं भोलि राति कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान छ। यो वर्षा असोज १८ गतेसम्म रहने सम्भावना छ। असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम यथावतै छ,’ प्राधिकरणले सूचनामा भनेको छ।

यात्राका क्रममा विशेष सावधानी अपनाउन प्राधिकरणकाे आग्रह छ । ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न प्राधिकरणले सूचित गरेकाे छ ।

‘यात्रारत रहँदा पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्नुहुन, ठूलो पानी पर्न लागेको बेला सुरक्षित स्थानमा रोकि वर्षा रोकिएपछि मात्र यात्रा गर्नुहुन र नदी किनाराका बस्तीमा एक्कासी बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गरी उच्च सतर्कता अपनाउनुहुन एवम् पहिरोको जोखिम भएका स्थानका व्यक्तिहरु सुरक्षित स्थानमा स्थानान्तरण हुन सबैमा विनम्र अनुरोध छ,’ सूचनामा भनिएको छ।

जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरू, यातायात व्यवसायीहरू, ट्राफिक प्रहरीहरू, यात्रुहरू र नदी किनारका बासिन्दाहरूले यहीअनुसार सतर्कता अपनाउन पनि प्राधिकरणले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट