पार्टी राजनीति हाबी हुँदा अखिल क्रान्तिकारीको सम्मेलनमा भाँडभैलो-Sutra News

पार्टी राजनीति हाबी हुँदा अखिल क्रान्तिकारीको सम्मेलनमा भाँडभैलो

बन्द सत्र स्थगित गरेर नेताहरुको कोठाचोटामा विद्यार्थी नेताहरुको बैठक

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

काठमाडौं । यस पटक पनि नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा भाँडभैलो मच्चिएको छ । संगठनको नेतृत्व कसले हात पार्ने भन्नेमा पार्टीभित्रै लडाइँ चलेपछि सम्मेलनमा भाँडभैलो मच्चिएको हो ।



२३औँ राष्ट्रिय सम्मेलनमा उमेर हदको विषय प्रवेश गराइएपछि सम्मेलन बिथोलिएको हो । उमेर हदको विषयलाई मतदानबाट टुङ्ग्याउने निर्णय भएपछि हद पार गरेको समूह विरोधमा उत्रिएको छ । सोमबार सम्मेलन स्थलमा हद पक्षधर र विरोधीबिच झडप भएको थियो ।

३२ वर्षे उमेर हद लगाएको खण्डमा नेतृत्वका लागि दाबेदार सबैजसो विद्यार्थी नेता बाहिरिने अवस्था छ । जुन विषयको प्रवेशसँगै सम्मेलन स्थल खाली छ भने नेताहरूको कोठा र चोटामा बैठक तथा छलफलहरू केन्द्रित बनेका छन् । विद्यार्थी नेताहरु बन्द सत्र स्थगित गरेर अहिले पार्टी नेताहरुसँग छलफलमा जुटेका छन् ।

यसअघि २२औँ सम्मेलन पनि यसैगरी भाँडिएको थियो । चरम विवादकै बिच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यासीहरुलाई खुमलटार बोलाएर पञ्चा सिंहलाई टिका लगाउँदै अध्यक्ष घोषणा गरिदिएका थिए ।

यस पटक पनि अध्यक्ष प्रचण्ड हाबी देखिएका छन् । उनै योजनाअनुसार सङ्गठनभित्र उमेर हद लगाउने विषयले प्रवेश पाएको हो ।

विद्यार्थी फ्याक्सन इन्चार्ज हिमाल शर्माका अनुसार मतदानकै प्रक्रियाबाट विवाद टुंग्याउन प्रचण्डले निर्देशन दिएका छन् । “अध्यक्षबाट लोकतान्त्रिक विधिबाटै टुंग्याउन निर्देशन आएको छ, हलले जे भन्छ, त्यही मान्नुस् भन्ने उहाँको कुरा छ”, शर्माले भनेका छन् ।

यदि उमेर हद लगाउने अवस्था भएमा नेतृत्वको दाबेदाबीबाट महासचिव दिपेश पुनसहितका अधिकांश विद्यार्थी नेताहरू बाहिरिने छ । २२औँ सम्मेलनबाट निर्वाचित १७ उपाध्यक्षहरू इन्‍द्र भुसाल, नरेश रेग्मी, पवन कार्की, मदन भूल, मदन भट्टराई, नारायण खनाल, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, डा. अच्युत भट्ट, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रविणा अधिकारी, सूर्यनारायण साह, गजेन्द्र देव लगायत कुनै पनि विद्यार्थी नेता संगठनमा रहने छैनन् ।

यस्तो अवस्था निवर्तमान उपमहासचिव र तल्लो वरियताका केही विद्यार्थीहरू रहनेछन् । उमेर हद कायम भएका हेमन्त राई, रोशन थापामगर, सुरजसिंह ठकुरी, नारायण बडाल, सुदिन पौडेल, राजेन्द्र विष्ट, तिर्सना हमाल, योगेन्द्र बुढालगायत सम्भावित दाबेदार हुन् ।

उल्लेखित विद्यार्थी नेताहरू पनि पार्टीगत खेमामा विभाजित छन् । उमेर हद लागेको खण्डमा पनि अध्यक्ष प्रचण्ड, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माबिच नै प्रतिस्पर्धा हुने स्पष्ट छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट