२६ सयको बिन्दुमा टिकेन नेप्से-Sutra News

२६ सयको बिन्दुमा टिकेन नेप्से

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) सेयर बजार परिसूचक (नेप्से)मा गिरावट आएको छ । बुधबार २६.०७ अंकले घट्दै नेप्से २५९७.४९ को बिन्दुमा ओर्लिएको छ । बुधबार समग्रमा ०.९९ प्रतिशतले नेप्से घट्यो ।



यसअघि सोमबार ४४.४५ अंक र मंगलबार ११४.७० अंकले नेप्से बढेको थियो ।

दोहोरो अंकले नेप्से घट्दै गर्दा बुधबार फाइनान्स बाहेकका सबैजसो समूहका सूचक घटे । फाइनान्स १.७५ अंकले बढ्दा अन्य सबैजसो समूह १ प्रतिशत हाराहारीको गिरावट भयो । सबैभन्दा बढी निर्जिवन बिमा समूह १.८२ प्रतिशतले घट्दा सबैभन्दा कम अन्य समूहमा ०.०३ प्रतिशतले गिरावट आयो ।

बुधबार कारोबारमा आएका २४४ कम्पनीमध्ये १८७को मूल्य घट्यो भने ५४ को मूल्य बढ्यो । ३ को मूल्य भने स्थिर रह्यो ।

सूचक घट्दै गर्दा मंगलबारको तुलनामा केही कारोबार रकम पनि घटेको छ । १ करोड ५१ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा बुधबार कारोबार रकम ६ अर्ब ७७ करोड ८१ लाखमा सीमित भयो ।

नेपाल फाइनान्स, हिमालयन रि, गुडविल फाइनान्स, नेपाल बैंक लिमिटेड र सिवम् सिमेन्ट कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहे । आज नेपाल फाइनान्सको मात्रै २० करोड ७१ लाख ५५ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

लगातार दुई दिनको बृद्धिका बिच नेप्से १५९ अंकले बढेको थियो । उच्च अंकले बढ्दै गर्दा अल्पकालिन लगानीकर्ता नाफा कमाउन उद्धत देखिए । जसको प्रभाव नेप्से घट्न पुग्यो ।

बजारका जानकार आजको गिरावटलाई स्वभाविक ठान्छन् । यसले आगामी दिनमा थप बजार बढ्नलाई सघाउ पुर्‍याउने जानकारको बुझाई छ ।

यद्यपि, बजार घट्नुमा चाडपर्वको प्रभाव पनि देख्न सकिन्छ । बिहीबारदेखि हिन्दु नेपालीहरुको मुख्य चाड दसैंको सुरुवात हुँदैछ । केही लगानीकर्ता दसैंका निम्ति पनि नाफा बुक गर्न व्यस्त भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट