चिडियाखानामा बर्डफ्लूका कारण ४७ बाघको मृत्यु-Sutra News

चिडियाखानामा बर्डफ्लूका कारण ४७ बाघको मृत्यु

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

काठमाडौँ । ‘एच ५ एन१’ बर्ड फ्लू भाइरस संक्रमणले दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, ३ वटा सिंह र एक प्यान्थरको मृत्यु भएको छ ।



आधिकारिक भियतनाम समाचार एजेन्सी (भिएनए)का अनुसार अगष्ट र सेप्टेम्बरमा लङ एन प्रान्तमा रहेको निजी माई क्विन्ह सफारी पार्क र डोङ नाइमा रहेको भुओन जोई चिडियाखानामा जनावरहरूको मृत्यु भएको हो ।

“नेसनल सेन्टर फर एनिमल हेल्थ डायग्नोसिस”को परीक्षणको नतिजाअनुसार जनावरहरूको मृत्यु “एच ५ एन १ टाइप-ए भाइरसको संक्रमणबाट भएको भिएनएले जनाएको छ ।

चिडियाखानाले यस विषयमा कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेका छन् । वन्यजन्तु संरक्षणमा केन्द्रित गैरसरकारी संस्था “एजुकेशन फर नेचर भियतनाम (इएनभी)” ले सन् २०२३ को अन्त्यमा भियतनाममा कूल ३८५ बाघ बन्दी अवस्थामा रहेको बताएको छ ।

सन् २०२२ देखि एच ५ एन १ सहित इन्फ्लुएञ्जा भाइरसका कारण स्तनपायीमा घातक प्रकोप बढ्दै गएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

भियतनामले मार्चमा विश्व स्वास्थ्य संगठनलाई यस भाइरसबाट मानिसको मृत्यु भएको जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट