जुम्लाबाट झण्डै ६ हजार मेट्रिकटन स्याउ बाहिरियो-Sutra News

जुम्लाबाट झण्डै ६ हजार मेट्रिकटन स्याउ बाहिरियो

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

जुम्ला । जिल्लाबाट चालु आर्थिक वर्षमा पाँच हजार ८६२ मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइएको छ । उक्त स्याउ बिक्रीबाट जिल्लामा ३८ करोड १० लाख आम्दानी भएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ ।



कार्यालयका कृषि प्रसारण अधिकृत शेरबहादुर भण्डारीले गत साउनदेखि यही असोज ८ गतेसम्ममा सडक तथा हवाई यातायातमार्फत स्थानीय स्याउ बाहिरी जिल्ला पठाइएको जानकारी दिए । जुम्लाका आठ वटै स्थानीय तहमा गरी करिब १५ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको उनले बताए ।

जिल्लामा चार हजार दुई सय हेक्टरमा स्याउ खेती भए पनि उत्पादन भने दुई हजार आठ सय हेक्टरमा मात्र हुने गरेका जानकारी दिँदै अधिकृत भण्डारीले आगामी कात्तिकको अन्तिम सातासम्म स्याउ उत्पादन र निर्यातको यकिन विवरण प्राप्त हुने बताए ।

आठ वटै स्थानीय तहका करिब १६ हजार परिवार स्याउ खेतीमा निर्भर रहेका जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए । बगैँचामा पुगेर व्यापारीले प्रतिकेजी ६५ का दरले स्याउ खरिद गर्दै आएका छन् ।

जिल्लामा स्थानीय जातका जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फूजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट