बार अध्यक्ष घिमिरेविरुद्धको अपहेलना मुद्दा फिर्ता हुने-Sutra News

बार अध्यक्ष घिमिरेविरुद्धको अपहेलना मुद्दा फिर्ता हुने

बिहिबार, १७ असोज २०८१

बिहिबार, १७ असोज २०८१

काठमाडाैं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अपहेलना मुद्दा फिर्ता हुने भएको छ । अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले मुद्दा फिर्ता लिने बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उपरजिस्ट्रार घिमिरेले बार अध्यक्ष घिमिरेविरुद्ध अपहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको बताएका हुन् ।



घिमिरेले नै बार अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दामा प्रतिवेदन तयार पारेका थिए । तर, उनी आफैंले गएराति फेसबुक स्ट्याटस लेख्दै फिर्ता लिने बताएका हुन् ।

उनले अदालत खुल्नासाथ आफ्ना भनाइसहित मुद्दा फिर्ता लिन औपचारिक निवेदन दिने बताएका छन् ।

‘म हिजोदेखि निदाउन सकेको छैन । जीवनभर प्रजातन्त्रको पछि लागियो । बा सधैँ यसकै लडाइँ लड्नु भयो । बार जनताको आवाज हो, लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्वविरुद्ध मैले अपहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु’, उनले भनेका छन्, ‘अदालत खुला हुँदा आफ्ना भनाइसहित औपचारिक निवेदन दिनेछु । म कसैको प्यादा बन्न चाहिनँ ।’

अदालत आजदेखि दसैँ बिदा भएको छ। अव खुलेसँगै आफूले निवेदन दिने उनले बताए ।

घिमिरेविरुद्धको अपहेलना मुद्दाको पेसी १ कात्तिकका लागि तोकिएको छ । अध्यक्ष घिमिरेविरुद्ध सोमबार अदालतको अपहेलनाको मुद्दा दर्ता भएको थियो ।

नगरकोटमा आयोजित कार्यक्रममा अध्यक्ष घिमिरेले न्याय परिषद्ले न्यायाधीश सिफारिस गरेको विषयलाई हतारोमा घुसको हिसाब मिलानको विषयसँग जोडिएको अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिपछि घिमिरेविरुद्ध अपहेलनाको मुद्दा दर्ता गरिएको थियो ।

बारले न्याय परिषद् नियमावली २०७४ को (पहिलो संशोधन २०८०) प्रति असहमति जनाउँदै गैरसंवैधानिक नियमावलीलाई अविलम्ब खारेजको माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट