पशुपतिभित्र मारवाडीको रजाइँ अन्त्य, २१ वर्षपछि कोषमै फिर्ता भयो ९ रोपनी ९ आना जग्गा-Sutra News

पशुपतिभित्र मारवाडीको रजाइँ अन्त्य, २१ वर्षपछि कोषमै फिर्ता भयो ९ रोपनी ९ आना जग्गा

बिहिबार, १७ असोज २०८१

बिहिबार, १७ असोज २०८१

काठमाडौं । अन्ततः भगवान पशुपतिनाथ क्षेत्रभित्र मारवाडी समुदायबाट भएको ब्रह्मलुटको एउटा श्रृंखला अन्त्य भएको छ । काठमाडौं जिल्ला अदालतले श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको २१ वर्षअघिको सम्झौता खारेजी सदर गरिदिएसँगै मारवाडी समुदायको ब्रह्मलुटको एउटा श्रृंखला बन्द भएको हो ।



चौतर्फी प्रश्न उठेपछि पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेको थियो । यद्यपि, वर्षौंदेखि रजाइँ गर्दै आएको मारवाडी सेवा समितिले परिषद्को निर्णयलाई चुनौति दिँदै अदालत पुगेको थियो ।

तर, अदालतले दाबी नपुग्ने फैसला गरेको छ । समितिले करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्बहाली गरिपाऊँ भनी गरेको रिटविरुद्धमा अदालतले फैसला गरेको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले समितिले दायर गरेको मुद्दामा दाबी नपुग्ने फैसला भएको जानकारी दिए । यससँगै कोष र समितिबिच भएको नौबुँदे सम्झौता रद्द गर्ने निर्णय पनि सदर भएको छ ।

अदालतको फैसलासँगै पशुपति क्षेत्र विकास कोषको ९ रोपनी ९ आना जग्गा क्षेत्र विकास कोषमै फिर्ता भएको छ । अब मारवाडी सेवा समितिले २१ वर्षदेखि कब्जामा लिएको काठमाडौंको गौशालास्थित कित्ता नं. ८३ को ४–१५–२–० र सोही स्थानको कित्ता नं. ८५ को ४–१०–०–० क्षेत्रफलको नौ रोपनी नौ आना जग्गा पशुपति क्षेत्र विकास कोषमै फिर्ता भएको छ ।

कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले अदालतको फैसलाले पशुपतिनाथको सम्पत्ति फिर्ता भएको बताए । “वर्षको ५१ हजार तिरेर व्यापारिक लाभका लागि भगवान् श्री पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला प्रयोग भएको थियो, हाम्रो लामो प्रयासपछि कौडीको भाउमा कब्जामा रहेको पशुपतिनाथको सम्पत्ति फिर्ता भएको छ, अब धर्मशालालाई धार्मिक प्रयोजनकै लागि प्रयोग गरिने छ”, डा. थापाले सञ्चार माध्यमलाई भनेका छन् ।

कसरी हात पारेको थियो मारवाडी समुदायले जग्गा ?

तत्कालीन अमालकोट कचहरीका तर्फबाट द्वारे कृष्णलाल वैद्य र सेवा समितिका तर्फबाट महासचिव शिव भगवान अग्रवालले धार्मिक कार्यका लागि भन्दै उक्त सम्झौता गरेका थिए । तत्कालिन कोषका सदस्य सचिव वसन्त चौधरीको अगुवाईमा त्यो सम्झौता भएको थियो ।

जम्मा वार्षिक ५१ हजार रुपैयाँ तिर्ने गरी चौधरीले आफूनिकट मारवाडी सेवा समितिलाई पशुपतिनाथको सो सम्पत्ति उपलब्ध गराएका थिए ।

पुशपतिनाथ क्षेत्रमा छाडिएका साँढेहरुको व्यवस्थापन गर्नेलगायतका धार्मिक उद्देश्य बनाएर गरिएको सो सम्झौतालाई दुरुपयोग गर्दै मारवाडी सेवा समितिले सो क्षेत्रमा व्यापारकाे धन्दा चलाएकाे थियो । समितिले उक्त जग्गामा होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर सञ्चालन गरिरहेको छ ।

समितिले व्यावसायिक प्रयोजनकै लागि दुध उत्पादन गर्न जर्सी गाईसमेत पालेर दुध बेच्ने गरेको छ ।

धर्मशालामा १९ सटर रहेकामा त्यसको भाडा मात्र मारवाडी सेवा समितिले मासिक करिब ७ लाखभन्दा माथि उठाउने गरेको छ । धर्मशालाभित्र दुई सय ७० कोठा छन् । जुन कोठा दैनिक हजार रुपैयाँसम्म भाडामा दिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट