नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता, देखाए सूचना प्रविधिदेखि पर्यटनसम्म रुचि-Sutra News

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता, देखाए सूचना प्रविधिदेखि पर्यटनसम्म रुचि

बिहिबार, १७ असोज २०८१

बिहिबार, १७ असोज २०८१

काठमाडाैं । श्रमिक गन्तव्यको रूपमा मात्रै नभई कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन्। नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक तथा वित्तीय संस्थासम्बद्ध सेवाहरू, जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा कतारका लगानीकर्ताको रुचि देखिएको छ।



‘यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन्,’ कतार चेम्बर अफ कमर्सका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले भने, ‘हामी थप लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्नेछौँ।’

नेपाल–कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरीय बैठकमा अध्यक्ष थानी र महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल एवं प्रतिनिधिमण्डलबिच बुधबार कतारको राजधानी दोहामा सम्पन्न बैठकमा आर्थिक सम्बन्ध विस्तारका विषयमा छलफल भएको हो।

कतारका अमिर सेख तमिम बिन हमाद अल थानीको गत अप्रिल २३ र २४ मा सम्पन्न नेपाल भ्रमणका क्रममा महासंघ र कतार चेम्बरबिच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो। काउन्सिलको अध्यक्षस्तरीय पहिलो बैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आ–आफ्नो नेतृत्वमा सदस्य नियुक्त गरी काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ।

त्यसलगत्तै नेपालमा कतार–नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राखे। आगामी वर्ष उक्त कार्यक्रम आयोजना गर्ने सहमति पनि बैठकमा भएको बताइएको छ।

बैठकमा अध्यक्ष ढकालले नेपालमा बाह्य क्षेत्रमा स्थायित्व रहेको र कानुनहरूमा गरिएको सुधारले लगानीको अवसर जुट्दै गएको बताए। साथै उनले कतारका लगानीकर्ताहरूलाई नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, सीप विकासलगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेकाले लगानीका लागि आह्वान गरे।

यसैगरी, कतार सरकारले आयोजना गरेको एसियन कोअपरेसन डायलगमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले सहभागिता जनाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट