च्याङग्राको मूल्यमा भारी गिरावट, एउटा च्याङग्राको मूल्य कति ?-Sutra News

च्याङग्राको मूल्यमा भारी गिरावट, एउटा च्याङग्राको मूल्य कति ?

बिहिबार, १७ असोज २०८१

बिहिबार, १७ असोज २०८१

काठमाडौँ । दशैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्यमा भारी गिरावट भएको छ ।



च्याङग्राको संख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरूले बिक्री मूल्य घटाएका हुन् ।

गत वर्ष खोरमै प्रतिगोटा ४० हजारभन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका व्यापारी टसी छेवाङ गुरुङले यसपाली ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेको बताए ।

“ठाउँ अनुसार पाँचदेखि १० हजार कम मूल्यमा च्याङग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटाएका हौ,” उनले भने, “गत वर्ष काठमाडौँ पोखरामा प्रतिगोटा ५५ हजारसम्म परेको च्याङग्राको मूल्य यसपाली ४५ हजारभन्दा कम हुुन्छ ।”

छेवाङसहित डोल्पाका चार जना व्यापारीले मुस्ताङ हुँदै पाँच दिन हिँडेर २५० च्याङग्रा बिक्री गर्न पोखरा लैजानका लागि बुधबार म्याग्दीको घोडेपानी पुगेका छन् । मुस्ताङका साथै डोल्पा र मुगुबाट ल्याइएका च्याङग्रा दशैँमा बिक्रीका लागि म्याग्दी हुँदै देशका विभिन्न सहर बजारमा पुग्न थालेका छन् ।

म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत ठाउँबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङ पुगेर फर्किन थालेका हुन् । जडिबुडीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ ।

दशैँ तिहारमा हिमाली च्याङग्राको मासुको खपत बढी हुने गर्छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमख लालमणी अर्यालका अनुसार बुधबारसम्म सात हजार च्याङग्रा जोमसोमदेखि म्याग्दीतर्फ झरेका छन् ।

यस वर्ष दशैँका लागि मुुस्ताङबाट दश हजार च्याङग्रा बिक्री हुने अनुमान गरिएको छ । मुस्ताङबाट म्याग्दीको बेनीसम्म दुईदेखि तीन दिन हिँडाएर ल्याएका च्याङग्रा बेनीदेखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा लैजाने गरिन्छ ।

तीन वर्ष पूरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट