चाडपर्वमा जनताको सास्ती- परिवार भेट्न बाटो खोज्दै यात्रा-Sutra News

चाडपर्वमा जनताको सास्ती- परिवार भेट्न बाटो खोज्दै यात्रा

बिहिबार, १७ असोज २०८१

बिहिबार, १७ असोज २०८१

काठमाडौँ । नेपाली हिन्दु धर्मालम्बीहरूको महान पर्व बडादशैँ आजदेखि सुरु भएको छ । घरमा जमरा राखेसँगै यो वर्षको दशैँ सुरु भएको हो । दशैँको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिए ।



प्रधानमन्त्री ओलीले दशैँको शुभकामना दिँदै गर्दा असोस ११ र १२ गते परेको भारी वर्षासँगै भएको जनधनको क्षतिलाई सम्बोधन गर्न छुटाएनन् । योसँगै उनले सरकारले आगामी दिनमा गर्नु पर्ने कामको बोध गरे ।

‘आजबाट हाम्रो महान पर्व बडादशैँको नवरात्र सुरु भएको छ, आज जमरा राखिन्छ, यसपाली अविरल वर्षाका कारण हाम्रो दशैँ खल्लो हुन पुग्यो, बाढी पहिरोले दुई सयभन्दा बढीको ज्यान गयो, कयौं घाइते हुनु भएको छ,’ उनले भने, ‘उहाँहरूको तत्कालका लागि राहत र दीर्घकालका लागि पुनर्बासको काम गरिरहेका छौँ ।’

प्रधानमन्त्री ओलीले दुःख व्यक्त गर्दै शुभकामना दिए पनि जनताको पीडा उस्तै छ । वर्षमा एक पटक आफ्नो परिवारसँग दशैँ मनाउन घर फर्किने सर्वसाधरणले अनगिन्ती दुःख र कष्ट भोग्दै छन् ।

केही दिनअघि परेको भारी वर्षासँगै आएको बाढी पहिरोमा परी २३३ जनाले ज्यान गुमाए । २२ जना बेपत्ता भए । सयौँ घाइते हुँदा हजारौँ घरबार विहीन हुन पुगे । बाँचेकाहरू क्षतविक्षत भए ।

दशैँको मुखमा आएको बाढी पहिरोले भौतिक संरचनामा उस्तै क्षति पुगेको छ । जीवनभरी बगाएको पसिनाले बनेको घर ढले । लहलह झुलेका धानखेत बगर बने । बाटोहरु हराए । दशैँ आएसँगै घर फर्र्किनेहरु बाटोको खोजीमा निस्किए ।

राजधानी काठमाडौँसँग पूर्व जोड्ने प्रमुख सडक बीपी राजमार्ग हिँड्न सक्ने अवस्थामा छैन । काभ्रेको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा दुई सय मिटर सडक बगाइदियो ।

रोशी खोलाको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन गर्ने गरी सडक बनाउने काम थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

वर्षाका क्रममा शनिबार उक्त स्थानमा सडक सम्पर्क टुटेपछि स्थानीयबासी तथा यात्रु अलपत्र परेका थिए । उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । राजधानीसँग मध्यपहाडी क्षेत्र हुँदै पूर्व जोड्ने एक मात्र छोटो दुरीको उक्त राजमार्ग शनिबार बिहानदेखि ठप्प छ ।

यस्तै, काठमाडौँदेखि पश्चिम नेपाललाई जोड्ने प्रमुख सडक पृथ्वी राजमार्गको अवस्था उस्तै छ । संघीय राजधानीको आँगन मानिने झ्याप्ले खोलामा पहिरोले तीन वटा सवारी साधनलाई पूर्ण क्षति पुर्यायो । घटनामा ३५ जनाले ज्यान गुमाए ।

काठमाडौँदेखि ११ किलोमिटरको दुरीमा भएको यो घटनाको प्रमुख कारण सडकको दुरावस्था हो । उकालो बाटोमा कमजोर सडक अवस्था हुँदा जाममा फसेको सवारी साधनमाथि पहिरो खसेको थियो । वर्षा रोकिए पनि यो सडकमा यात्रुले पाउने सास्ती उस्तै छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी नेपालका विभिन्न जिल्लामा वर्षा भइरहेको छ । जसको असर दशैँमा घर फर्किंनेदेखि सर्वसाधारणमाथि परेको छ । ‘हामीसँग जम्मा तीन दिनपछिको मात्रै मौसम पूर्वानुमान गर्ने क्षमता रहेको छ, दशैँमा कस्तो मौसम हुन्छ भन्ने अहिले भन्न सक्ने अवस्था छैन,’ विभागले भन्यो ।

चाडपर्वमा नजिकिएसँगै आवागमन सहज बनाउने उद्देश्यले अवरुद्ध सबै सडक सञ्चालनमा ल्याउन सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको टोलीले तीव्रता देखाएको छ ।

वर्षभरी जनताको जीवनमाथि छलकपट गर्ने सरकार चाडपर्व नजिकिएसँगै चासोका साथ काममा तत्परता देखाउने गरेको छ । विगतमा जस्तै यो वर्ष भने सरकारलाई सहज हुने छैन । दुई दिनको वर्षासँगै आएको बाढी पहिरोले सरकारको परीक्षा लिँदै छ । जनताले दुःखमाथि पीडा खेप्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट