पेट्रोलियम पाइपलाइन निर्माण गर्न सम्झौता, भारत सरकारले प्राविधिक सहयोग गर्ने-Sutra News

पेट्रोलियम पाइपलाइन निर्माण गर्न सम्झौता, भारत सरकारले प्राविधिक सहयोग गर्ने

बिहिबार, १७ असोज २०८१

बिहिबार, १७ असोज २०८१

काठमाडौँ । नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।



आज आयोजित एक समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यस क्रममा भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पंकज जैन तथा इण्डियन आयल कर्पोरेसनका अध्यक्ष भिसतिस कुमारको उपस्थिति रहेको नेपाल निगमले जनाएको छ ।

सम्झौताअनुसार भारतको सिलिगुडीबाट नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । साथै चारआलीमा १८ हजार नौ सय किलोलिटर क्षमताको ‘स्मार्ट ग्रिनफिल्ड टर्मिनल’ निर्माण हुनेछ ।

यस्तै, अमलेखगञ्जबाट चिवनको लोथरसम्म ६२ किमी लामो पेट्रोलियम पाइपलाइन परियोजना पनि भारत सरकारको अनुदानमा निर्माण हुने जनाइएको छ ।

लोथरमा ९१ हजार नौ सय किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमले निर्माण गर्नेछ । ती आयोजनाको कुल लागत १५ अर्ब बराबर रहेको निगमले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा ती आयोजना अगाडि बढाउने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट