मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मी खण्ड एकतर्फी खुल्यो-Sutra News

मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मी खण्ड एकतर्फी खुल्यो

बिहिबार, १७ असोज २०८१

बिहिबार, १७ असोज २०८१
सांकेतिक तस्बिर

काठमाडौँ । मध्य पहाडी राजमार्गअन्तर्गत खुर्कोट–घुर्मीखण्ड आजदेखि एकतर्फी रुपमा खुलेको छ । केही दिनअघि आएको वर्षासँगैको बाढी पहिरोले राजमार्गको सयौँ स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो ।



राजमार्गमा दुवैतर्फबाट दुई–दुई वटा डोजर र स्काभेटर प्रयोग गरी पाँच दिनसम्मको निरन्तर प्रयासमा आज दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको सिन्धुली गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सडक आयोजना तथा स्थानीय गोलञ्जोर र फिक्कल गाँउपालिकाको सहयोग र समन्वयमा घुर्मीबाट दुई र खुर्कोटबाट दुई वटा स्काभेटर प्रयोग गरी एकतर्फी रुपमा सडक सञ्चालन ल्याइएको हो ।

दुवैतर्फबाट झरेको पहिरो पन्छाउँदै अघि बढेका डोजर र स्काभेटरले स्थानीय कालिआँपको पहिरो पन्छाएसँगै राजमार्ग सञ्चालनमा आएको उपाध्यक्ष न्यौपानेले जानकारी दिए । खुर्कोट–घुर्मी खण्ड ६१ किलोमिटर लामो दूरीको छ ।

राजमार्ग सञ्चालनमा आए पनि यस क्षेत्रमा वर्षाले जमिन कमलो बनाएकाले सुख्खा पहिरोको जोखिम कायम रहने भन्दै रात्रि कालीन यात्रा गर्नु जोखिमपूर्ण हुनसक्ने भन्दै सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

सयौँको सङ्ख्यामा यस खण्डमा स–साना पहिरो झरेका छन् । हाललाई सामान्य रुपमा पहिरो पन्छाएर एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ ।

उक्त राजमार्ग अवरुद्ध भएसँगै ओखलढुङ्गा, उदयपुर, सिन्धुली, सोलुखुम्बु र खोटाङलगायत क्षेत्रमा बन्द भएको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ । मध्यपहाडी राजमार्गको उक्त खण्ड भई सामान्य अवस्थामा दैनिक सयौँ तथा दशैँ तिहारजस्ता चाडबाडमा हजारौँको सङ्ख्यामा साना तथा ठूला सवारीसाधन गुड्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट