राप्रपाभित्र फेरि बबन्डर-Sutra News

राप्रपाभित्र फेरि बबन्डर

शुक्रबार, १८ असोज २०८१

शुक्रबार, १८ असोज २०८१

काठमाडौं । केही समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र देखिएको असन्तुष्टि थप चलिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेरको निर्णय एकल ढंगले गरेसँगै विवाद चुलिएको हो ।



अध्यक्ष लिङ्देनले विशेषगरी आफूविरोधी गुट चलाइरहेका महामन्त्री डा. धवलशमशेर राणालाई पार्टीभित्रको महत्वपूर्ण मानिएको संगठन विभाग प्रमुखको जिम्मेवारीबाट हटाएका छन् । उनले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई सो जिम्मेवारी सुम्पेका छन् ।

अध्यक्ष लिङ्देनले राजनीतिक विभागको प्रमुखमा भने वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ल्याएका छन् । बिहीबार सो पार्टीको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै सो निर्णयबारे जानकारी गराएका थिए ।

लिङ्देनले स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष ध्रुव बहादुर प्रधान, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धब थापा, सुचना प्रविधि विभाग (आइटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने मनोनित गरेका छन् ।

अहिले राप्रपाका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी अमेरिकामा छन् । यसैगरी उपाध्यक्ष बिक्रम पाण्डे पनि अस्वस्थ भएको कारण बिदामा छन् ।

यता, लिङ्देनले जिम्मेवारीबाट हटाइएका राणा स्वास्थ्य उपचारको क्रममा भारतमा छन् ।

नेताहरू नरहेको बखत लिङ्देनले जिम्मेवारी हेरफेरको निर्णय गरेका हुन् ।

जुन हेरफेरको निर्णयसँगै राप्रपाभित्रको विवाद सार्वजनिकरुपमै प्रकट भएको छ । राप्रपा पूर्वअध्यक्ष लोहनीले लिङ्देनको निर्णयमा आपत्ति जनाएका छन् ।

“राप्रपाका सांसद तथा महामन्त्री धवल शम्शेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ, यस्तो बेलामा उहाँलाई संगठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो र बिरामी साथीलाई तनाव दिने काम मात्र हो”, सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, “यो निर्णयप्रति म दुःख व्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट