फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षकाे नियुक्ति प्रक्रिया-Sutra News

फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षकाे नियुक्ति प्रक्रिया

शुक्रबार, १८ असोज २०८१

शुक्रबार, १८ असोज २०८१

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षकाे नियुक्ति प्रक्रिया फेरि रोकिएको छ। अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका पाँच जनामध्ये तीन उम्मेदवारले शुक्रबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम तय भएको थियो ।



तर, सिफारिस समितिका संयोजक स्वयम् डा. शिवराज अधिकारी बिरामी भएपछि अन्तर्वार्ता स्थगित गरिएकाे हाे । अर्थ मन्त्रालयले जनाएअनुसार अधिकारी बिरामी परेर अस्पताल भर्ना भएका छन् ।

अब अर्को सूचना जारी नभएसम्मका लागि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिको काम नहुने मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

अध्यक्षकाे लागि धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंलाई शुक्रबार अन्तर्वार्ता र प्रस्तुतिको लागि बोलाइएको थियो। यसअघि उनीहरू अनुपस्थित हुँदै आएका थिए।

छनोट समितिले पहिलो चरणमा १९ जनाबाट सन्तोषनारायण श्रेष्ठ, धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठसहित तीन जनालाई छनोट गरेको थियो। पाँच जनामध्ये दुई जना मात्र उपस्थित भएपछि कानुनी अड्चन आएको भन्दै अर्थमन्त्रालयले प्रक्रिया नै रोकेको थियो।

अर्थमन्त्रालयले प्रक्रिया नै रोकेपछि सन्तोषनारायण श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। नयाँ प्रक्रिया सुरू नगर्न अदालतले आदेश दिएपछि पुरानै प्रक्रियालाई निरन्तरता दिने प्रयास गरिएको थियो।

सर्टलिस्टमा परेर पनि यसअघि तीन उम्मेदवार अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतिमा सहभागी नभएपछि गठित सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन । नाम सिफारिस गर्न नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न समितिका तिनै सदस्य रहनेगरी नयाँ सिफारिस समिति बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट