प्रचण्डले गरे यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिसँग छलफल-Sutra News

प्रचण्डले गरे यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिसँग छलफल

शुक्रबार, १८ असोज २०८१

शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिसँग प्राकृतिक विपद्ले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गरेका छन् ।



बाढी पहिरोका कारण विभिन्न ठाउँमा भएको क्षतिको अनुगमन गरेका अध्यक्ष दाहालले दशैँको समयमा गाउँ फर्कने जनताको अवस्था, बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्जाल, यातायात व्यवसायी, मजदुरलगायत समग्र यातायात क्षेत्रका समस्याबारे जानकारी लिँदै समाधानका लागि पहल लिने प्रतिबद्धता जनाउ ।

आफूले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेका प्रभावित स्थलको अनुगमन गर्दा अझै पनि गाडी पुरिएको, आवागमन अवरुद्ध रहेको, यातायात क्षेत्रले ठूलो क्षति भोगेको र यातायात मजदुरलाई पीडादायी अवस्थामा देखेको उल्लेख गरे ।

अध्यक्ष दाहालले यससम्बन्धी विस्तृत जानकारी लिएर प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा समाधानका लागि पहल गर्न छलफल थालेको बताए ।

अध्यक्ष दाहाल निवास खुमलटारमा भएको छलफलमा यातायात महासंघ र यातायात मजदुर संगठनका पदाधिकारीले यातायात क्षेत्रले ठूलो संकट व्यहोर्नु परेको, व्यावसायी मारमा परेको, यातायात मजदुरको सुरक्षाका लागि सरकारले पहल लिन नसकेको, यातायात क्षेत्रमा पुगेको क्षतिको तथ्यांक संकलनसमेत नगरिएकोलगायत धारणा राखे ।

सरकारले पहिरोका कारण थुनिएका मजदुर र गाडीको उद्धार गर्नु पर्ने, घरबारविहीन भएका मजदुर र व्यावसायीलाई राहतको व्यवस्था गर्नु पर्ने र पुरिएका र बगेका गाडीको बीमा रकम प्राप्तिमा समस्या भएका कारण तत्काल उपलब्ध गराइदिने वातावरण बनाइदिन उनीहरुको आग्रह थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट