यसकारण कठिन छ ‘छक्का पन्जा ५’लाई इतिहास दोहोर्‍याउन-Sutra News

यसकारण कठिन छ ‘छक्का पन्जा ५’लाई इतिहास दोहोर्‍याउन

शुक्रबार, १८ असोज २०८१

शुक्रबार, १८ असोज २०८१

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० बक्सअफिसमा सबैभन्दा बढी कमाई गर्ने फिल्ममा ‘छक्का पन्जा’ सिरिजको फिल्म ‘छक्का पन्जा ४’ बन्यो । चलचित्र विकास बोर्डको आँकडलाई मात्रै हेर्दा, फिल्मले बक्स अफिसबाट १७ करोड ५२ लाख ९९ हजार रुपैयाँ कमाई गरेको थियो ।



सँगै फिल्मले अन्य शीर्षकबाट पनि राम्रो आम्दानी गरेको थियो । एकातिर विज्ञापन पनि फिल्मको लागि राम्रो कमाईको स्रोत बनेको थियो भने अर्कोतिर सामाजिक सञ्जालका प्लेटफर्म पनि आम्दानीको राम्रो शीर्षक बन्यो । जसका थुप्रै गीतसहित कन्टेन्टहरु सामाजिक सञ्जालमा ट्रेडिङ्गमा थिए ।

यसपटक पनि छक्का पन्जाको अर्को सिरिज ‘छक्का पन्जा ५’ले ‘रेकर्ड ब्रेक’ कमाई गर्ला भन्ने आशमा निर्माण पक्षमा देखिएको छ । हुन पनि फिल्मको चर्चा सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा राम्रै देखिन्छ ।

यद्यपि, निश्चल बस्नेतको फिल्म ‘बेहुली मेघौली’सँगै अन्य दुई फिल्म ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’सँग प्रतिरोध गर्नु ‘छक्का पन्जा ५’का लागि सामान्य देखिएको छैन ।

घटस्थापनादेखि प्रदर्शनमा आएको ‘बेहुली मेघौली’ले निकै राम्रो शो पाएको छ । फिल्मको सुरुवात निकै नै उत्साहजनक देखिन्छ ।

बिहीबार प्रायः शोजमा ८० प्रतिशतमाथि अकुपेन्सी रहेकोमा शुक्रबार पनि उस्तै उत्साह देखियो । जसको शनिबार पनि असाध्यै राम्रो टिकट बुकिङ्गको अवस्था देखिन्छ ।

दर्शकको उत्साहजनक सहभागिताले फिल्म ‘बेहुली मेघौली’लाई फुलपातीअघि नै हलबाट उतार्ला भन्ने सम्भावना कम देखाउँछ । यसको अर्थ फूलपातीदेखि लाग्दै गरेका तीन फिल्मसँग यसले पनि प्रतिस्पर्धा नगर्ला भन्न सकिन्न । फुलपातीदेखि हलमा थप तीन वटा फिल्म थपिँदैछन् ।

फूलपातीको दिन ‘छक्का पन्जा ५’सँगै ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ पनि रिलिज हुँदैछन् । रिलिज हुँदै गरेका ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’को चर्चा सामान्य खालको छैन ।
यी दुवै फिल्मका टिजर, ट्रेलर र गीतहरु पनि एकपछि अर्को गरी ट्रेडिङ्गमा परिरहेका छन् ।

हिट गीत दिएको एक्सन जनराको फिल्म ‘१२ गाउँ’को ट्रेलर यूट्युबमा ट्रेडिङ्गमा परेको छ । तीन दिनमै ट्रेलरले १० लाखभन्दा माथि भ्यूज बटुलेको छ । जसमा असाध्यै तारिफ पनि देखिन्छ ।

यता, हाँस्यव्यंग्य मिसिएको फिल्म ‘ज्वाइँ साब’को ट्रेलर पनि युट्युबमा निकै चर्चामा छ । जसले एक दिनमै झण्डै तीन लाख भिजिटर पाएको छ । सामाजिक सञ्जालमा ट्रेलरको निकै तारिफ पनि भइरहेको छ ।

जसलाई हेर्दा, यसअघि वर्षमा जस्तै यसपटक पनि ‘छक्का पन्जा ५’ले रेकर्ड ब्रेक गर्ने गरी व्यापार गर्ला भन्ने सम्भावना कम देखाउँछ । सामाजिक सञ्जालमा देखिएको चर्चालाई हेर्दा, अन्य तीन फिल्मले ‘छक्का पन्जा ५’लाई माथ खुवाउन बेर देखिन्न ।

उसो त ‘छक्का पन्जा ५’ यसअघिकै शैलीभन्दा धेरै भिन्न छैन भन्ने बुझाई आममा देखिन्छ । ‘छक्का पन्जा’का सबैजसो सिरिजका कथा उस्तै पनि थिए ।

तर, यसपटक ‘छक्का पन्जा ५’सँग ‘ज्वाइँ साब’को शैली मिल्छ भने ‘१२ गाउँ’ भिन्न प्रकृतिको फिल्म भएको कारण विशेषगरी एक्सन जनरा र हिन्दी फिल्म खोज्नेका लागि विकल्प बन्न सक्छ । जसको प्रभाव ‘छक्का पन्जा’ले बनाएको रेकर्डलाई कायमै राख्नेमा चुनौति देखिएको छ ।

यद्यपि, सबै फिल्मलाई हाम्रो शुभकामना !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट