आन्तरिक हवाई उडानमा अत्यधिक चाप, के भन्छन् विज्ञ ?-Sutra News

आन्तरिक हवाई उडानमा अत्यधिक चाप, के भन्छन् विज्ञ ?

शुक्रबार, १८ असोज २०८१

शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही असोज १४ गते सोमबार एकै दिन ५५९ हवाई उडान भए । ती उडानमार्फत ३५ हजार ७०४ जनाले हवाई यात्रा गरे ।



आन्तरिक र अन्तर्राष्ट्रिय गरी यो उडान र यात्रु संख्या सम्भवतः हालसम्मकै बढी भएको विमानस्थलले जनाएको छ । असोज १५ गते बिहीबार हेलिकप्टरसहित ५११ उडान भए ।

बुधबार आन्तरिकतर्फ हेलिकप्टरसहित १८२ उडान र १८२ वटा अवतरण भएका थिए । साथै, अन्तर्राष्ट्रियतर्फ ५२ वटा उडान र ५२ वटा अवतरण भएका थिए । यसबाट १५ हजार ९६२ यात्रुले सेवा लिएका थिए ।

कार्यालयका अनुसार गत सोमबार कूल ५९९, मंगलबार ५११ र बुधबार ४७३ वटा उडान भएका छन् । बिहीबार र शुक्रबार केही उडान चाप घटेको छ ।

दैनिक सरदर आन्तरिक र अन्तर्राष्ट्रिय गरी चार सय हाराहारी उडान हुने गरेकामा अहिले एक सयदेखि १५० सम्म थप उडान व्यवस्थापन गर्नु परिरहेको विमानस्थलले जनाएको छ ।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्चालन अवरुद्ध भएपछि विकल्पको रुपमा रहेको हवाई उडानमा अध्याधिक चाप बढेको हो ।

उडान चाप बढेपछि केही एयरलाइन्सले उडान संख्या पनि थपेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा चाप हुँदा विमानस्थलको टर्मिनलमा भीड बढेको छ भने एयरलाइन्सलाई उडान व्यवस्थापनमा हम्मे परिरहेको छ ।

विमानको उडान संख्या बढेपछि विमानस्थलमा एयर ट्राफिक चाप बढेको छ । आन्तरिकमा धेरै उडान एकदेखि दुई घण्टासम्म ढिला हुने गरेका छन् । अन्तर्राष्ट्रियतर्फ एक घण्टाभन्दा बढी समयसम्म विमान होल्डमा बसेर अवतरण गर्नु परेको छ ।

हवाई उडान चाप बढेपछि एयर ट्राफिक व्यवस्थापनका साथै हवाई उडानको सुरक्षाको सन्दर्भ पनि आउँछ । उडान चापले विमानस्थल व्यवस्थापनदेखि एयरलाइन्स, विमान चालक (पाइलट) तथा गन्तव्यका विमानस्थलको व्यवस्थापकीय र सुरक्षाको प्रश्न उठ्नु स्वभाविक पनि हो ।

हवाई उडान चाप रहे पनि हवाई सुरक्षालाई चुस्त दुरुस्त र प्रभावकारी बनाइएको नियामक निकाय एवं एयरलाइन्सका अधिकारीले दाबी गरेका छन् । उनीहरुले हवाई उडान सुरक्षामा कुनै सम्झौता नहुने उल्लेख गरे ।

आन्तरिक उडानमा आवश्यक जनशक्ति २४ सै घण्टा खटिएर सेवालाई चुस्त र प्रभावकारी बनाइएको उनीहरुको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले यात्रुको चाप बढेपछि उडान व्यवस्थापन र हवाई सुरक्षाको पाटोलाई विशेष ध्यान दिएर नागरिकलाई गन्तव्यमा पुर्याउन सबै सक्रिय रुपमा लागेको बताए ।

“हवाई सुरक्षामा शून्य सहनशीलता अपनाइएको छ, सुरक्षा र सेवालाई समानान्तर रुपमा अघि बढाइएको छ”, महानिर्देशक अधिकारीले भने, “विपद्को समयमा सहर–सहरबीच सम्पर्क विच्छेद छ, अहोरात्र खटेर उड्डयन क्षेत्रका कर्मचारी, एयर ट्राफिक कन्ट्रोलर (एटीसी), प्राविधिक, प्रशासनिक कर्मचारी, सुरक्षा निकाय, ‘फायर फाइटिङ’का कर्मचारीले मेहनतकासाथ काम गरिरहेका छन् अनेकौँ असहजताकाबीच यो स्तरको सेवा दिइएको छ, यसमा सबैले सकारात्मक कोणले हेर्नु पर्छ ।”

सडकमार्ग अवरुद्ध हुँदा अहिले हवाई उडानमा चाप रहेको र यसले एयरलाइन्सबीचको प्रतिस्पर्धा बढाएको हवाई विज्ञ अच्युत पहाडीले बताए ।

“फेयर पाइटिङ र एयरलाइन्सको प्रतिस्पर्धाले पनि जोखिम बढी हुनसक्छ, हवाई सुरक्षाप्रति सतर्क हुनुपर्छ, हवाई सुरक्षालाई नियामक निकायले प्रभावकारी अनुगन गर्नु पर्छ,” उनले भने ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उडान चाप बढेपछि विमानस्थलमा एयर ट्राफिक चाप बढ्ने र उडान डिले हुने तथा होल्डमा बस्नु पर्ने अवस्था हुन्छ । नियामक प्राधिकरणले एयरलाइन्सको माग र विमानस्थलको क्षमताका आधारमा उडान अनुमति दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट