बाढी पहिरोले यातायात क्षेत्र समस्या-Sutra News

बाढी पहिरोले यातायात क्षेत्र समस्या

शनिबार, १९ असोज २०८१

शनिबार, १९ असोज २०८१

काठमाडौँ । यातायात व्यवसायीहरुले बाढी पहिराले मुलुकभरका विभिन्न राजमार्गका पुल र बाटो बगाउँदा यातायात क्षेत्र समस्यामा परेका बताएका छन् ।



नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ, नेकपा एमाले निकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठन र नेकपा माओवादी केन्द्र निकट गणतान्त्रिक यातायात व्यवसायी संगठनले आज संयुक्त विज्ञप्ति जारी गरी चाडपर्वको नजिक भएका विपद्जन्य घटनाले नेपालको यातायात क्षेत्र समस्यामा परेका बताएका हुन् ।

व्यवसायी संघसंगठनले बाढी र पहिरोबाट निधन भएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै हराएकाको यथाशीघ्र खोजी गर्न सरकारसँग आग्रह गरेका छन् ।

घाइतेको उपचार, उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । यातायात संघसंस्थाहरूले बाढी पहिराको घटनाले चाडपर्वको सम्मुखमा व्यवसायीको नियमित गतिविधिमा असर पुग्नाका साथै बिपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुँदा सयौँ सार्वजनिक सवारी साधन र मजदुर अलपत्र परेको बताउँदै तत्काल अलपत्र सवारी साधन तथा यात्री उद्धार गर्नुपर्ने व्यवसायीको माग छ ।

व्यवसायीहरुले दसैँ अगावै समस्या समाधान गर्ने पहलकदमी लिनाका साथै यातायात व्यवसायी तथा मजदुरलाई तत्काल राहत पुग्ने किसिमको वित्तीय सहयोगको कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षसमेत गरेका छन् ।

संयुक्त विज्ञप्तिमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका अध्यक्ष श्रीप्रसाद मैनाली र गणतान्त्रिक यातायात व्यवसायी संगठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट