च्याङ्ग्रा व्यापारीको कथा- रारादेखि फेवा तालसम्म-Sutra News

च्याङ्ग्रा व्यापारीको कथा- रारादेखि फेवा तालसम्म

शनिबार, १९ असोज २०८१

शनिबार, १९ असोज २०८१

काठमाडौँ । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए । साढे दुई सय च्याङ्ग्रा लिएर आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाउँछन्, उनी ।



मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आइपुगेका उनका साथमा दुई साथी थिए । लामो यात्राले थकित शरीरलाई विश्राम दिँदै उनीहरू दशैँको मुखमा च्याङ्ग्रा बेच्न लुम्ले आइपुगेका हुन् । च्याङ्ग्रा बिक्री गर्दै आइतबार बिहानसम्म पोखरा पुग्ने उनको योजना छ ।

लामाले दशैँमा च्याङ्ग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलो पटक भने होइन । विगत एक दशकदेखि नियमित जसो च्याङ्ग्राको व्यापार गर्न उनी मुगुबाट आउँछन् ।

“यसपाली दुई महिनाअघि मुगुको राराबाट हिँडेको थिए, मुगुबाट नेपालगञ्ज जहाज र त्यहाँदेखि पोखरा हुँदै गाडीको यात्रामा मुस्ताङ पुगेको थिएँ”, उनले भने ।

लामो समयदेखि यहाँ आइ च्याङ्ग्रा बिक्री गर्दै आएका छिरिङलाई मुस्ताङदेखि पोखरासम्मका हरेक ठाउँबारे राम्रो जानकारी छ । मुस्ताङ र म्याग्दीका अग्ला भिरपहरा छिचोल्दै लुम्मेसम्म आइपुग्दा उनले १८ वटा च्याङ्गा बिक्री भइसकेको बताए ।

लामाभन्दा अगाडि केही व्यापारीले च्याङ्ग्रा पोखरा पुर्याइसकेका छन् । अघिल्लो वर्षको तुलनामा मूल्य कम हुँदा च्याङ्ग्राको माग बढेको उनको अनुभव छ । यही असोज २२ गतेसम्म सबै च्याङ्ग्रा बिक्री गरेर गाउँ फर्कने उनको योजना छ ।

मुगुको रारा तालदेखि कास्कीको फेवा तालसम्म च्याङ्ग्रा व्यापारमा वर्षौं बिताएका लामाले यही पैसाले परिवारको पालन पोषण र छोराछोरी पढाउन सहज भएको बताउँछन् । उनले मुस्ताङको उच्च हिमाली क्षेत्रदेखि डोल्पासम्म पुगेर च्याङ्ग्रा ल्याउँछन् ।

अघिल्लो वर्ष मूल्य अचाक्ली बढ्दा बजारमा माग कम आएको हुँदा यस वर्ष करिब १० देखि १२ हजारले मूल्य घटाएको लामा बताए । लामाको व्यवसायिक साझेदार हुन्, मुस्ताङका कर्मा लामा । उनले भने यस वर्ष हिमालबाट ढिला झर्दा सोचे अनुसारको बिक्री नभएको बताए ।

यस वर्ष च्याङ्ग्राको अधिकतम मूल्य ४० देखि ४५ हजार रहेको कर्माले जानकारी दिए । आफूहरुले बथानमा रहेका रोज्जा (रोजेको) च्याङ्ग्रालाई ४२ हजारमा दिने गरेको उनको भनाइ थियो ।

दशैका बेला म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्याङ्ग्रा खरिद गरेर ल्याउने गर्छन् । यस वर्ष पनि धेरैको संख्यामा व्यापारी मुस्ताङ पुगी च्याङ्ग्रा लिएर बजार पुग्न थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट