बाढीपछि फोहोर बनेको पशुपति क्षेत्रमा सरसफाइ-Sutra News

बाढीपछि फोहोर बनेको पशुपति क्षेत्रमा सरसफाइ

शनिबार, १९ असोज २०८१

शनिबार, १९ असोज २०८१

काठमाडौँ । नेपाली कांग्रेसले नवरात्रको अवसर पारेर पशुपति क्षेत्रका विभिन्न स्थानमा बाढीले जम्मा पारेको फोहर सफाइ गरेको छ ।



कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको आयोजनामा भएको कार्यक्रममा पार्टीका उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य एवं विभागका प्रमुख कल्याणकुमार गुरुङलगायत पार्टी नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।

असोज १०, ११ र १२ गतेको वर्षा र त्यसपछि आएको बाढीका कारण पशुपति क्षेत्रमा थुप्रिएको फोहर सफाइका लागि कार्यक्रम आयोजना गरिएको विभागका प्रमुख गुरुङले जानकारी दिए ।

संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई सफा र स्वच्छ राखी विश्वका पर्यटक यहाँ आकर्षित गर्नु पर्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पनि उनले जानकारी दिए ।

सम्पदा क्षेत्रलाई सधैँ सफा राख्नुपर्छ भनी पार्टीले वडातहसम्म जागरण अभियान चलाउने पनि जनाइएको छ । त्यस अवसरमा पशुपति क्षेत्रका विश्वरुप, मृगस्थली, गुह्येश्वरी र त्यस नजिकको वाग्मतीमा सफाइ गरिएको थियो ।

कांग्रेसले बाढी, पहिरोका कारण बागमती नदी किनार र नदी किनारमा रहेका सम्पदा क्षेत्रमा जम्मा भएको फोहरलाई निरन्तर रुपमा सफाइ गर्ने जनाएको छ ।

यसै क्रममा यही असोज २१ गते बिहान ७ बजे ललितपुरको बागमती किनारस्थित बीपी नगरमा रहेको कांग्रेस केन्द्रीय कार्यालय परिसरमा सफाइ गरिने विभागीय प्रमुख गुरुङले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट