मन्त्री गुरूङको दाबी- बाढी पहिरो पीडितप्रति सरकारले काम गरिरहेको छ-Sutra News

मन्त्री गुरूङको दाबी- बाढी पहिरो पीडितप्रति सरकारले काम गरिरहेको छ

शनिबार, १९ असोज २०८१

शनिबार, १९ असोज २०८१

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बाढी पहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको दाबी गरेका छन् ।



फास्ट फुड एशोसिएसन नेपालले आयोजना गरेको ‘कर प्रशिक्षण’ कार्यक्रममा उनले चाडपर्व प्रारम्भ हुन लागेका बेला बाढी पहिरोबाट देश र जनताले भोग्नु परेको अकल्पनीय परिस्थितिप्रति सरकार संवेदनशील रहेको तथा पीडितलाई राज्यका निकायबाट सक्दो सहयोग गर्नु पर्छ भन्नेमा कसैको विमति नरहेको बताए ।

“देशका विभिन्न स्थानमा एकैपटक बाढीपहिरोबाट मानवीय क्षति भयो, सडक सञ्जाल विच्छेद भयो, कैयौँ नागरिक घरबारविहीन भएका छन्, यस्तो जटिल अवस्थामा सरकारले सम्बन्धित निकायलाई परिचालन गरेर सहायता परिचालन गरिरहेको छ,” मन्त्री गुरूङले भने ।

यस्तै, मन्त्रीले लगानी मैत्री वातावरण बनाउन सरकार लागि परेको, लगानी बढेपछि सेवा क्षेत्र विस्तार भई रोजगारीका अवसर सृजना हुने भएकाले त्यसप्रति नै सरकारले ध्यान दिएको बताए ।

उनले भने, “स्थिर सरकार भएन भने नीतिगत स्थायित्व हुँदैन, नीतिगत स्थायित्व भएन भने विकास र समृद्धिले फड्को मार्न सक्दैन, राजनीतिक स्थायित्वका लागि नेकपा एमालले नेपाली कांग्रेससँग सहकार्य गरेको हो ।”

नेपाली जनताले तत्काल परिणाम खोजेका तर नीतिगत सुधार गरी त्यसलाई कार्यन्वयनमा लैजान केही समय लाग्ने भएकाले तत्काल परिणामको अपेक्षा गर्नु स्वाभाविक नहुने तर्क गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट