के छ ‘छक्का पञ्जा ५’को ट्रेलरमा ?-Sutra News

के छ ‘छक्का पञ्जा ५’को ट्रेलरमा ?

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

अमिशा रिजाल/काठमाडौं । फिल्म ‘छक्का पञ्जा’ सिरिजको पाँचौं श्रृंखला ‘छक्का पञ्जा ५’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म प्रदर्शनको पाँच दिनअघि शनिबार ट्रेलर सार्वजनिक गरिएको हो ।



फिल्मका दुई गीत ‘बिहे भाको छैन’ र ‘ब्रेकअप’ले निकै चर्चा बटुलिरहँदा ट्रेलरले पनि छोटो समयमै निकै चर्चा कमाएको छ । सार्वजनिक भएको छोटो समयमै यूट्युबमा ट्रेलर धेरै हेरिनेमध्येमा परेको छ ।

समाचार तयार गरिरहँदा सार्वजनिक भएको १७ घण्टाको बिचमा ट्रेलर पाँच लाख हाराहारीले हेरेका छन् ।

ट्रेलर हेर्दा, ‘छक्का पन्जा ५’ले हाँस्य व्यंग्यसँगै सरकारी सेवाभित्रको बेथितिलाई देखाउन खोजेको छ । फिल्मको मुख्य पात्र दीपकराज गिरी अर्थात् राजा छन् । फिल्म सोही राजाकै कथामा केन्द्रीत देखिन्छ ।

जहाँ उनका जीवनका तिता–मिठा कथासँगै सरकारी सेवामा रहेर त्यहाँभित्रको बेथितिविरुद्ध उनले गरेको संघर्षलाई देखाइएको छ ।

ट्रेलरलाई हेर्दा, एकातिर उनले झुक्याएर अर्थात् ‘छक्का पञ्जा’ गरेर विवाह गरेका छन् र त्यही विवाहको कारण उनको जीवनमा कतिपय समस्या सिर्जना भएको देखिन्छ । जुन प्रसङ्गलाई हाँस्य शैलीमा देखाइएको छ । जुन कथामा अन्य पात्रहरु पनि जोडिएका छन् ।

अर्कोतिर, सरकारी सेवाभित्रको बेथितिविरुद्ध उनले संघर्ष गरेका छन् । जसलाई कथाको मुख्य र गम्भीर पाटोको रुपमा देखाइएको छ ।

सामाजिक सञ्जालमा ट्रेडिङ्गमा पर्दै गर्दा जसमाथि टिप्पणी भने अनेकन शैलीमा आइरहेका छन् । कतिपयले ट्रेलरमाथि निकै राम्रो प्रतिक्रिया जनाएका छन् भने कतिपयले ‘खल्लो’ भन्ने टिप्पणी पनि गरेका छन् ।

यद्यपि, फिल्म हलमा कसरी प्रस्तुत होला, त्यो भने हेर्न बाँकी नै छ । फुलपातीकै मौकामा ‘छक्का पञ्जा ५’सँगै ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ पनि लाग्दैछन् । दुवैको चर्चा पनि सामान्य खालको छैन ।

आमा सरस्वती मुभिज र आएमईको प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् । दीपकराज गिरीको मुख्य अभियन रहेको फिल्ममा केदार घिमिरे, वर्षा शिवाकोटी, तेज गिरी, प्रकाश घिमिरे, ब्रजेश खनाललगायत छन् । दीपाश्री निरौलाले निर्देशन गरेको फिल्ममा हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको छ ।

यस्ताे छ फिल्मकाे ट्रेलर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट