रविलाई जहाँ गयो त्यहीँ सकस, चितवनमा पनि देखिएन सहज-Sutra News

रविलाई जहाँ गयो त्यहीँ सकस, चितवनमा पनि देखिएन सहज

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दसैँको माहौललाई लक्षित गरी असोज १८मा आफ्नै चुनावी क्षेत्र चितवन ओर्लिए । चुनावी क्षेत्रमा नेता तथा कार्यकर्ता भेटघाटसँगै सार्वजनिक सुनुवाइ कार्यक्रम पनि बनाइएको थियो ।



लामिछाने इच्छाकामना गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा सहभागी भएका थिए भने चितवन–२ भित्रका अन्य ठाउँमा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम बनाएका थिए । तर, यसरी आफ्नै क्षेत्रका जनताका बिच जान पनि लामिछानेलाई सहज भएन । उनी जहाँ गए, त्यहीँ विरोधको सामना गर्नुपर्ने अवस्था बन्यो ।

उनी सहभागी कार्यक्रममा कतै नाराबाजी मात्रै भयो भने कतै झडपकै अवस्था बन्यो । शुक्रवार मुग्लिङ बजारमा नाराबाजी मात्रै देखेका लामिछानेले शनिवार नारायणी कला मन्दिरमा झडपकै अवस्था व्यहोरे ।

जहाँ प्रदर्शनलाई नियन्त्रणलाई लिन उच्च बल प्रयोग गर्नुपर्ने अवस्था बन्यो । ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन हुँदाहुँदै प्रदर्शन नियन्त्रण बाहिर पुगेको थियो । जहाँ प्रहरीले बल प्रयोग गर्दा थुप्रै प्रदर्शनकारी घाइतेसमेत भएका छन् ।

शनिवारको प्रदर्शनमा घाइतेहरूको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

चितवनमा लामिछानेविरुद्ध शिव शिखर र सहारा चितवन सहकारीका पीडितले नाराबाजी गरेका थिए । दुवै सहकारीको करोडौँ रकम गोर्खा मिडियामा भित्र्याएर अपचलन गरिएको थियो । सहारा सहकारीको मात्रै ४७ करोड रकम गोर्खा मिडियामा भित्र्याइएको थियो । जसका ४४६ बचतकर्ताले लामिछानेलगायतविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

लामिछानेले चितवनमा मात्रै होइन, यसअघि देशका विभिन्न ठाउँमा पनि यस्तै प्रकृतिका विरोधलाई झेलेका छन् । पोखरामा लामिछाने सहभागी कार्यक्रम नै चितवनकै शैलीमा विरोध भएको थियो । जहाँ सहकारी पीडितको विरोध प्रदर्शनले उनको कार्यक्रम नै बिथोलिएको थियो ।

संसदीय समितिले कारबाहीको सिफारिस

सहकारी संस्था बचत अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले लामिछानेलाई कारबाही सिफारिस गरेको छ । विभिन्न सहकारीको रकम हिनामिनामा जोडिएको गोर्खा मिडिया नेटवर्क प्रा.लि.को सञ्चालकको रूपमा उनीमाथि छानबिन गरी कारबाही गर्न सिफारिस गरिएको हो ।

उनी स्वयंको संलग्नता पुष्टि हुने कागजपत्र नभेटिए पनि उनका विभिन्न नामबाट गोर्खा मिडियामा रकम भित्र्याइएको निष्कर्ष समितिको छ । सोही कारण समितिले उनीमाथि थप छानबिन गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ ।

“कम्पनी चलाउने रकम के(कहाँबाट आउँछ ? कसरी आउँछ ? कति आउँछ ? भन्ने कुरा खाता सञ्चालन गर्ने सञ्चालकले जान्ने र बुझ्ने नै अवस्था हुने तथा निजहरूमध्ये कसैले रकमको स्रोतमाथि प्रश्न गरी कुनै विमति वा फरक मत दर्ज गराएको अवस्था समेत रहेर भएको नदेखिएको हुँदा निज सञ्चालक द्वय रवि लामिछाने र छविलाल जोशी कम्पनीमा जिम्मेवार पदाधिकारी रहुन्जेल निजहरूले सहकारीबाट आएको रकम खर्च वा परिचालन गरेबापत सिर्जना हुने उत्तरदायित्व बहन गर्नुपर्ने देखिन्छ”, प्रतिवेदनमा भनिएको छ ।

संसदीय छानबिन समितिले विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख चार हजार ५३८ रुपैयाँ गोर्खा मिडियामा ल्याइ दुरुपयोग गरेको ठहर गरेको छ ।

‘क्लिन चिट’ पाएको निष्कर्ष

सहकारी छानबिन समितिले कारबाहीको लागि सिफारिस गरिरहँदा रास्वपाभित्र भने ‘क्लिन चिट’ पाएको बुझिएको मात्रै छैन्, सोहीअनुसार बोल्न पनि निर्देशन गरिएको छ । स्वयम् लामिछानेले पनि सार्वजनिकरुपमै आफूले क्लिन चिट पाएको बताइरहेका छन् ।

“सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ, पुष्टि भएको छ”, संसदमा प्रतिवेदन पेस भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लामिछानेले भनेका थिए ।

सोही बुझाइअनुसार नै रास्वपाभित्र प्रतिवाद गर्न निर्देशन गरिएको छ । “सहकारी ठगीको आरोप पुष्टि भएन, पुष्टि नभइरहँदा कसैले ठगको भाष्य निर्माण गर्न खोज्छ भने हामी प्रतिवाद गर्छौं, चिरफार गर्छौं”, रास्वपाभित्रको निष्कर्षबारे सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भनेका छन् ।

यद्यपि, विभिन्न ठाउँका प्रदर्शनले भने जनताबाट लामिछानेले क्लिन चिट नपाएको देखाउँछ । जनताले कारबाहीको माग गर्नुले लामिछानेमाथि थप छानबिनको खाँचो औँल्याउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट