नेप्सेमा देखिन थाल्यो उत्साह-Sutra News

नेप्सेमा देखिन थाल्यो उत्साह

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको बृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घटेको नेप्से आइतबार उच्च अंकले बढेको हो ।



आइतबार ५६.०९ अंकले बढ्दै नेप्से २६५३.५८ को बिन्दुमा उक्लिएको छ । समग्रमा नेप्से २.१५ प्रतिशतले बढेको छ ।

सबै सूचकमा हरियाली देखिँदा आइतबार सबैभन्दा बढी फाइनान्स समूह ६.३० प्रतिशतले बढ्यो भने सबैभन्दा कम सामूहिक लगानी ०.१८ प्रतिशतले बढ्यो । बैंकिङ्ग २.२० प्रतिशतले बढ्दा विकास बैंक २.२२ प्रतिशतले बढ्यो ।

यसैगरी, होटल तथा पर्यटन १.७१ प्रतिशतले बढ्दा जलविद्युत २.७१ प्रतिशत, लगानी १.९९ प्रतिशत, जीवन बिमा १.३४ प्रतिशत, उत्पादन तथा प्रशोधन ३.१२, लघुवित्त १.४७ प्रतिशत, निर्जिवन बिमा १.४९, अन्य १.६२ र व्यापार ०.९० प्रतिशतले बढ्यो ।

कारोबारमा आएका २४४ कम्पनीमध्ये २१९ को मूल्य बढ्दा २३ कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो ।

आइतबार न्यादी हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लाग्दा, मध्यभोटेकोशी ९.७६, इष्टन हाइड्रोपावर ९.६८, गुडविल फाइनान्स ९.२७ प्रतिशतले बढ्यो ।

उच्च अंकले नेप्से बढ्दै गर्दा आज कारोबार रकम भने केहीले घटेको छ । १ करोड ५० लाख ४६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँको भयो । जुन अघिल्लो कारोबार दिनको तुलनामा कम हो ।

विशेषगरी साहस उर्जा, एनआरएन इन्फास्टक्चर डेभपलपमेन्ट, नेपाल फाइनान्सलगायत कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहे ।

नेप्से लामै समय करेक्सन मोडमा जाँदा आम लगानीकर्ताले प्यानिक महसुस गरेका थिए । सँगै चाडपर्वको सुरुवातसँगै पनि कारोबार रकम सुस्ताउँदा नेप्सेमा उत्साह जाग्न सकेको थिएन ।

यद्यपि, केही कारोबार दिनयता नेप्सेले पुनः पुरानै लय लिन खोजेको देखिएको छ । चाडपर्वकै बिच पनि कारोबार रकम सुखद देखिन्छ भने बृद्धि शैलीले करेक्सन मोड सकिएको संकेत गर्दछ ।

यही शैली कायमै रहेमा चाडपर्वकै बिच पनि नेप्सेले उत्साहपूर्ण बाटो समाउने संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट