कामको खोजीमा भारत पुगेकाहरू दशैँ मनाउन घर फर्किंए-Sutra News

कामको खोजीमा भारत पुगेकाहरू दशैँ मनाउन घर फर्किंए

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

काठमाडौँ । नेपालीहरूको चाड बडादशैँ तथा दिपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएकाहरू घर फर्किन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीले जनाएको छ ।



त्रिनगर सीमा नाकाबाट एक सातामा छ हजार ९४७ जना नेपाली भित्रिएका सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए । यात्रुहरूको आवतजावतमा सहजताका लागि बडादशैँ, तिहार र छठ पर्वसम्म सीमा नाकामा यात्रु सहायता कक्षसमेत निर्माण गरिएको छ ।

बाजुराका मनोज कडारा पाँच जना परिवारसहित सोही नाकाबाट घर फर्किए । दश वर्षदेखि भारतको मुम्बईमा सेक्युरिटी गार्डको जागिर गर्दै आएका कडाराले चाडपर्व मनाउन घर फर्केको बताउँछन् ।

भन्सार सीमा नाकामा हेल्प डेक्स निर्माणसँगै घर फर्कंदा पहिलाभन्दा धेरै सहज भएको उनको भनाइ थियो । ‘चाडपर्वमा परिवारका सदस्यबीच एकसाथ भेटघाट हुने गरिन्छ,’ कडाराले भने, ‘जसले घरबाहिर लामो समय एक्लो भएर बस्दाको तनाव कम हुन्छ ।’

भारतको राजकोटबाट रोजगारी गरी घर फर्कंदै गरेकी कैलालीको बौनियाकी शारदा साउदले बडादशैँमा टीका थाप्नुका साथै पारिवारिक भेटघाट र खेतीपाती भित्र्याउन आफू घर फर्केको बताउँछन् ।

भारतको मुम्बईमा होटलमा रोजगारी गरी फर्कंदै गरेका कञ्चनपुरको पुनर्वास नगरपालिकाका रोशन विश्वकर्माले चाडपर्व मनाउनका लागि घर फर्केको बताए ।

यस क्षेत्रका सर्वसाधारण युवा रोजगारी गर्न छिमेकी मुलुक भारत जाने गर्दछन् । खेतीपाती भएकाहरू आफ्नो काम सम्पन्न गरी भारतमा काम गर्न जाने र फसल प्राप्त हुने समयमा घर आउने गर्दछन् । खेतीपाती नहुनेहरु लामो समयको अन्तरालपछि चाडवाड मनाउन घर आउने गरेका पाइन्छन् ।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका मानिस रोजगारका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायत ठूला सहरमा जाने गर्दछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट