भुवन केसी बने शेफर्ड कलेजको सद्भावना दूत-Sutra News

भुवन केसी बने शेफर्ड कलेजको सद्भावना दूत

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

काठमाडौँ । कलाकार/फिल्म निर्माता तथा निर्देशक भुवन केसी शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीको विशेष सद्भावना दूत नियुक्त भएका छन्। शान्तिनगरस्थित कलेजमा आइतबार आयोजित कार्यक्रममा यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।



सम्झौतापत्रमा कलाकार केसी र कलेजको तर्फबाट प्रवन्ध निर्देशक तरुणप्रताप शाहले हस्ताक्षर गरेका छन्। केसी चार वर्षका लागि शेफर्ड कलेजको सद्भावना दूत बनेका हुन्।

सद्भावना दूतको रूपमा कलाकार केसी कलेजका विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूमा सहभागी हुनेछन्। साथै उनले आफ्नो सामाजिक सञ्जालमार्फत पनि कलेजको प्रवद्र्धन गर्ने समझदारी भएको छ।

यसका साथै सम्झौता अवधिभर केसीको फिल्म निर्माता कम्पनी सुपर काजल फिल्म्सको ब्यानरमा बन्ने फिल्ममार्फत पनि शेफर्ड कलेजको प्रवर्द्धन गर्ने सहमति भएको छ।

सम्झौता हस्ताक्षर तथा आदानप्रदान कार्यक्रममा कलाकार केसीले आफू कलाकार हुने समयमा फिल्मको बारेमा औपचारिक अध्ययन गर्न नपाएको अनुभव सुनाउँदै शेफर्ड कलेजले फिल्मको अध्ययन अध्यापन सुरु गरेकोमा खुसी व्यक्त गरे। फिल्मसम्बन्धी शिक्षा राम्रो भए समग्र फिल्म क्षेत्र राम्रो हुने उनको भनाइ थियो।

शेफर्ड कलेजका प्रवन्ध निर्देशक शाहले कलेजका कोर्सहरूबारे जानकारी दिँदै कलाकार केसीसँगको सहकार्यले फिल्म एजुकेसन अझ राम्रो हुने विश्वास व्यक्त गरे। उनले भने, ‘यसै वर्षदेखि हामीले मास्टर्स इन मिडिया टेक्नोलोजीको तेस्रो सेमेस्टरमा चलचित्रको विषय थपेका छौं। भुवन केसीसँगको सहकार्यले यो विषयको पठनपाठन अझ प्रभावकारी हुनेछ।’

स्नातकोत्तर तहमा नेपालमै पहिलोपल्ट सिनेमाको पढाइ शेफर्ड कलेजले सुरु गरेको जानकारी दिँदै उनले प्रविधिको विकाससँगै विद्यार्थीहरुको रुचिअनुसार समसामयिक विषयहरु थप गर्दै लैजाने जानकारी दिए। सन् २००२ मा स्थापित शेफर्ड कलेज नेपालकै पहिलो र एकमात्र मिडिया टेक्नोलोजी कलेज हो।

कलेजकी प्रिन्सिपल कविता शर्माले फिल्म क्षेत्रमा करिअर बनाउन चाहने विद्यार्थीका लागि शेफर्ड कलेज उत्कृष्ट गन्तव्य भएको बताइन्। ‘शेफर्ड कलेजमा सिनेमाको विषय पढाइ हुने कुराले उहाँ (भुवन केसी) पनि उत्साहित हुनुहुन्थ्यो र यसबारेमा चासो राख्नुभएको थियो। अहिले उहाँ हामीसँग जोडिनुभएकोमा म अत्यन्तै खुसी छु,’ उनले भनिन्।

शेफर्ड कलेजमा ब्याचलर्स इन मिडिया टेक्नोलोजी (बीएमटी) र मास्टर्स इन मिडिया टेक्नोलोजी (एमएमटी) को पढाइ हुन्छ। बीएमटी चार वर्षे र एमएमटी दुई वर्षे कोर्स हो। बीएमटीमा ४० जना र एमएमटीमा ३० जना विद्यार्थीले हरेक वर्ष भर्ना हुन पाउँछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट