दुर्गा प्रसाईँकाे समूहले आगजनी गर्दा घाइते ट्रक चालकको मृत्यु-Sutra News

दुर्गा प्रसाईँकाे समूहले आगजनी गर्दा घाइते ट्रक चालकको मृत्यु

सोमबार, २१ असोज २०८१

सोमबार, २१ असोज २०८१

बिर्तामोड । दुई साताअघि झापामा दुर्गा प्रसाईँ समर्थकको आगजनीमा परेका ट्रक चालकको मृत्यु भएको छ। भारत छप्रा उत्तर दिनाजपुर बस्ने ४० वर्षीय ट्रक चालक पदा रायकाे मृत्यु भएकाे हाे ।



गत असोज ७ गते बिहान २ः५० बजे बिर्तामोड–६ गिरीबन्धु टी–इस्टेटनजिक पूर्वपश्चिम राजमार्गमा सुनसरीको दुहबीबाट जुट पुर्‍याएर पूर्वतर्फ आउँदै गरेको डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकमा दुर्गा प्रसाईँका समर्थकहरूले आगजनी गरेका थिए । ट्रकमा आगजनी गर्दा ट्रक चालक गम्भीर घाइते भएका थिए।

घाइते चालकलाई सुरुमा बिर्तामोडकै बीएण्डसी अस्पतालमा उपचार गरेर पछि थप उपचारका लागि नर्थ बंगाल मेडिकल कलेज लगिएको थियो। त्यहीँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

आगजनी गर्ने दुर्गा प्रसाईँका ८ जना समर्थकलाई प्रहरीले पक्राउ गरिसकेको छ ।उनीहरूमाथि आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ ।

मृतक रायका आफन्तहरूले आइतबार साँझ एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाका अवरोध गरेका थिए । उनीहरूले साँझ ५.३५ देखि ६ बजेसम्म नाकामा अवरोध पुर्‍याएका थिए ।

भारतीय प्रहरीले नेपाल प्रहरीसँग सहजीकरण गरी साँझ ६.३० बजे मृतकको शव नेपाल पठाएको छ । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट