काठमाडाैं । नेपालीहरूको महान पर्व बडादशैं सुरु भएकै दिन अर्थात् घटस्थापनाको दिन पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगे । उनले छोरी प्रेरणा, भतिजी शिताष्मा, राजेश र स्वकीय सचिव सागर तिमल्सिनालाई भ्रमणमा लिएर गएका थिए ।
भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकको निमन्त्रणमा गएका पूर्वराजा शाह चार दिनको भ्रमण सकेर स्वदेश फिर्ता भइसकेका छन् । यद्यपि, उनको भुटान भ्रमणलाई लिएर राजनीतिक तहमा तरंग सिर्जना भएको छ ।
विशेषगरी भुटानमा पूर्वराजा शाहलाई राजाकै हैसियतमा भव्य स्वागत र सम्मान गरिनु र व्यक्तिगत भनिएपनि भ्रमणलाई राजकीय जस्तो देखाउन खोज्नुले प्रश्न उब्जाएको छ । भारत प्रभावित भुटानमा पूर्वराजा शाहलाई किन यसरी स्वागत र सम्मान गरियो ? के भारत शाहलाई सघाउने शैलीमा आएको हो ?
मोदीपछि शाहको भ्रमण
भुटान एक स्वतन्त्र राष्ट्र भए पनि परराष्ट्र नीतिमा भारतको दबदबा रहँदै आएको छ । भारतले परराष्ट्रसहित थुप्रै विषयमा सिधा–सिधा हस्तक्षेप गर्दै आएको छ ।
सन् १९४९ मा दुई देशबिच द्विपक्षीय सन्धि भएको थियो । जसका आधारमा भुटानको परराष्ट्र नीति भारत नियन्त्रित रहन्थ्यो ।
यद्यपि, सन् २००८ मा देखाउने गरी सो द्विपक्षीय सन्धि नवीकरण गरिएन । तर पनि राजा जिग्मे सिंगेको कार्यकालमा स्थापित मान्यताअनुसार तेस्रो मुलुकले भुटानसँगको सम्बन्ध विस्तारका लागि आफ्ना दिल्लीस्थित कूटनीतिक निकायलाई तोक्ने परिपाटी परिवर्तन भएको छैन ।
जसले भुटानको परराष्ट्र नीति भारत नियन्त्रित रहेको देखाउँछ । जसलाई हेर्दा, पूर्वराजा शाहले भुटान भ्रमणमा पाएको सम्मान पनि भारत निर्देशित रहेको स्पष्ट हुन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत चैत ८ र ९ गते भुटान भ्रमणमा पुगेका थिए । मोदीको भ्रमणसँगै पूर्वराजा ज्ञानेन्द्रलाई भुटान भ्रमणका लागि निम्ता पठाइएको थियो ।
भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले पनि शाहलाई सकारात्मक सन्देश दिँदै आएको देखिन्छ । भाजपाका नेताहरूले नेपालमा राजतन्त्रको पक्षमा खुलेर वकालत गर्दै आएका छन् ।
बेलाबेलामा पूर्वराजा शाह भारत भ्रमणमा पनि जाने गरेका छन् । यस क्रममा उनले आफ्नो भ्रमण व्यक्तिगत भएको बताउँछन् ।
तर, पूर्वराजा शाहको भारत भ्रमण स्वभाविक खालको भने देखिन्न । नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र पुनस्र्थापनाको वकालत गर्दै आएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पूर्वराजाले पटक–पटक भेट गर्दै आएका छन् । भाजपाका प्रभावशाली नेताको रुपमा हेरिने आदित्यनाथसँगको भेट व्यक्तिगत मात्रै हो भन्ने अवस्था छैन ।
भुटान भ्रमणबाट राजवादीहरु उत्साहित
पूर्वराजाको भ्रमणलाई लिएर नेपालमा राजावादीहरू उत्साहित देखिन्छन् । उनको भ्रमणलाई अर्थपूर्ण भन्दै उनीहरुले अभिव्यक्ति दिँदै आएका छन् ।
राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पूर्वराजाको भ्रमण र स्वागतलाई अर्थपूर्णरुपमा व्याख्या गरेका छन् । उनले पूर्वराजाको सम्मानमा ओछ्याइएको ‘रेड कार्पेट’लाई गर्विलो अर्थ भएको टिप्पणी गरेका छन् ।
“प्राविधिक कारणले ‘राजकीय’ नभनिएको भुटानको ‘राजकीय भ्रमण’बाट राजा ज्ञानेन्द्र फिर्ता सवारी होइबक्सेको छ”, पूर्वराजा शाहको भ्रमणबारे मिश्रले लेखेका छन्, “यो ‘रेड कार्पेट’को गर्विलो अर्थ र तात्कालिन प्रधानमन्त्री प्रचण्ड भारत जाँदा ओछ्याइएको गलैँचा बीचको भिन्नता छुट्याउन नसक्नेहरूले नेपालमा राजसंस्था हुँदा अमेरिकादेखि बेलायतसम्म, भारतदेखि चीनसम्म रहेको देशको प्रतिष्ठा र त्यसले नेपाल तथा दक्षिण एसिया क्षेत्रकै दूरगामी हितमा पार्ने असरका बारेमा ज्यान गए बुझ्न सक्दैनन् ।”
पूर्वराजा शाहको भ्रमणलाई लिएर राजावादी मात्रै होइन, अन्य दल तथा क्षेत्रबाट पनि टिप्पणी भएको छ । खरो गणतन्त्रवादी भनेर चिनिने विश्लेषक खगेन्द्र संग्रौलाले पनि पूर्वराजा शाहको तस्बिर सेयर गर्दै सामाजिक सञ्जाल फेसबुकमा निकै अर्थपूर्ण शैलीमा “पूर्वराजा फर्के है भुटानबाट” भन्ने टिप्पणी गरेका छन् । उनको टिप्पणी पूर्वराजा शाह भुटानबाट फर्किएको मात्रै नभई राजनीतिकरुपमा फर्किन खोजेको अर्थमा हेर्न सकिन्छ ।
यद्यपि, चौतर्फी चर्चा परिचर्चा भइरहँदा पूर्वराजा शाहले भने आफ्नो भ्रमणबारे कुनै बयान सार्वजनिक गरेका छैनन् । उनको भ्रमणबारे चौतर्फी अनेकन टिप्पणी भइरहँदा उनको मौनताले पनि निकै अर्थ बोकेको छ ।
पूर्वराजाको भ्रमणलाई महत्व दिनुपर्दैन : विश्लेषक मुकुन्द आचार्य
राजनीतिक विश्लेषक मुकुन्द आचार्य पूर्वराजा शाहको भुटान भ्रमण व्यक्तिगतमात्रै हो भनि बुझ्नुपर्ने बताउँछन् । भुटानी राजासँगको व्यक्तिगत तथा व्यापारिक सम्बन्धका कडीमा भ्रमण भएको उनको बुझाई छ ।
“यसमा राजनीतिक विषय घुसाउन आवश्यक छैन, भुटानी राजासँग पूर्वराजा शाहको व्यक्तिगत र व्यापारिक सम्बन्ध छ, भुटानका राजाको जन्म पनि यहीँ भएको हो, त्यही कारण अलि स्वागत अलि राम्रो देखिएको हो”, उनले भनेका छन्, “नेपालको राजनीति बाह्य भूमिकाले मात्रै निर्धारण गर्न सक्ने खालको छैन, त्यसकारण यसमा के होला भनेर भनिरहनु पर्दैन ।”
नेपालको राजनीतिमा राजावादी शक्ति निकै कमजोर बनिसकेको र बाह्य शक्ति पनि राजाको पक्षमा नरहेको बुझाई आचार्यको छ । भारत स्वयम् आफ्नै समस्यामा अल्झिएको हुनाले पूर्वराजालाई सघाउने र राजसंस्था फर्काउने खेलमा नलाग्ने आचार्य बताउँछन् ।
“क्षेत्रीय राजनीति भारतकै हातमा छैन, चाहे श्रीलंका होस् वा बंगलादेश भारतको उपस्थिति देखिन्न”, उनले भनेका छन्, “अर्कोतिर स्वयम् मोदी चुनावबाट कमजोर बनेर आएका छन्, यस्तोमा उनले नेपालमा राजावादीलाई सघाएर राजसंस्था फर्काउने कुरा दिवा सपनाको कुरा हो । त्यो सम्भव छैन ।”