‘मायाका रंङहरु’को मुख्य भूमिकामा मनिष राउत अनुबन्धित-Sutra News

‘मायाका रंङहरु’को मुख्य भूमिकामा मनिष राउत अनुबन्धित

सोमबार, २१ असोज २०८१

सोमबार, २१ असोज २०८१

काठमाडौँ । गत वर्ष निर्माण घोषणा गरिएको फिल्म ‘मायाका रंङहरु’को मुख्य भूमिकामा अभिनेता मनिष राउत अनुबन्धित भएका छन् ।



निर्माण टिमले मनिषसँग केही समय पहिले लिखित सम्झौता गरेको थियो । ‘प्रेमगीत ३’ पश्चात पुनः मनिष सिनेमामा एक्सन अवतारमा देखिन लागेको निर्माण टिमले जनाएको छ ।

सोमबार परेको अभिनेता राउतको जन्मदिनको अवसरमा फर्स्टलुक पोस्टरसहित सिनेमाको मुख्य भूमिकामा अनुबन्धित भएको जानकारी दिएको हो ।

यसअघि सिनेमाको मुख्य भूमिकामा पल शाह लगायतका कलाकारहरू अनुबन्धित भएका थिए । उनीहरू सिनेमामा रहने नरहने कुनै पनि जानकारी निर्माण टिमले दिएको छैन । डेब्यु निर्देशक केवल तामाङका अनुसार सिनेमा पूर्ण रुपमा नयाँ शिराबाट निर्माण गर्न लागिएको छ ।

प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको छायांकन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौंमा गरिनेछ । पुनम तामाङ प्रस्तुतकर्ता रहको सिनेमामा भद्र भुजेल र राम मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, पटकथा तथा संवाद, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहने छ ।

सिनेमाको सह–निर्मातामा आरबी थाङदेन, जेनिश न्यौपाने र दीपेन्द्र चिलवाल छन् । सिनेमाको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् ।

तिहारपछि छायांकनको तयारीमा रहेको सिनेमा नयाँ वर्ष २०८२ को आसपासमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट