‘बेहुली फ्रम मेघौली’ पाइरेसीमा परेपछि निश्चलले दिए उजुरी-Sutra News

‘बेहुली फ्रम मेघौली’ पाइरेसीमा परेपछि निश्चलले दिए उजुरी

सोमबार, २१ असोज २०८१

सोमबार, २१ असोज २०८१

काठमाडौँ । फिल्म ‘बेहुली फ्रम मेघौली’का कलाकार तथा निर्माता निश्चल बस्नेतले आफ्नो फिल्म पाइरेसीमा परेको भन्दै साइबर ब्यूरोमा उजुरी दिएका छन् ।



फिल्म रिलिज भएसँगै टिकटक तथा युट्युबमा पाइरेसी भएपछि उनले यस्तो काम नगरिदिन आग्रहसमेत गरेका छन् । ‘हाम्रो फिल्म हेरेर माया गरिदिनु भएको सबैलाई धन्यवाद, यदि हलमा भिडियो खिचेर आफ्नो सामाजिक सञ्जालमामा हाल्नु भएको छ भने तपाईको एकाउन्ट बन्द हुनेछ, साइबर ब्युरोलाई धेरै धेरै धन्यवाद,’ उनले भने ।

सोमबार साइबर ब्युरोमा उजुरी दिँदै निश्चलले पाइरेसी गरिदिने एकाउन्टलाई ब्लक गर्न आग्रह गरेको स्पष्ट भएको छ । उनले थपे, ‘बौद्धिक सम्पति चोरी नगर्न सबैमा अनुरोध छ, पाइरेसी अपराध हो, आफू पनि बुझौँ र अरुलाई पनि बुझाउॅं, कानूनी प्रक्रिया अगाडि बढिसकेको जानकारी दिन चाहन्छु ।’

असोजको १७ गतेदेखि दशैँको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा तीन दिनमा दुई करोड २५ लाखको व्यापार गरिसकेको छ । फिल्मको महत्वपूर्ण दृश्य, क्लाइमेक्स पाइरेसी भएपछि निर्माण पक्ष मारमा परेको हो ।

साजन काफ्ले र आकाश बरालको निर्देशनमा तयार भएको फिल्ममा उमेर पुगेकी एक युवतीको विवाहको विषयमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट