काठमाडाैं । नबिल बैंक र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो)बीच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । सोमबार नबिल बैंकका एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजका वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार, नबिल बैंकले कार्डमा–आधारित विप्रेषण प्लेटफर्म एनरेमिटको सेवा हाम्रो पात्रो एपमा समावेश गरेको छ । नेपालबाहिर रहेका हाम्रो पात्रो प्रयोगकर्ताहरूले अब एपको ‘रेमिट्यान्स’ बटनमा गएर पठाउने र प्राप्त गर्ने व्यक्तिको विवरण र विप्रेषणको उद्देश्य उल्लेख गरी सेवा लिन सक्ने बैंकले जनाएको छ, जसअन्तर्गत आफ्नो अन्तर्राष्ट्रिय मास्टर कार्ड वा भिसा कार्ड प्रयोग गरेर विप्रेषण रेमिट्यान्स पठाउन सकिनेछ ।
यस सेवाअन्तर्गत प्रयोगकर्ताहरूले न्यूनतम यूएस डलर १०० देखि अधिकतम ५ हजार डलरसम्म पठाउन सक्नेछन् । नबिल बैंकका अनुसार रेमिट्यान्स प्राप्तकर्ताले नेपालभित्र जुनसुकै बैंक खातामा तुरुन्तै रकम प्राप्त गर्नेछन् ।
नबिल बैंकले २०२२ डिसेम्बरदेखि आफ्नो एनबैंक एपमार्फत एनरेमिट सेवा दिँदै आएको छ । यो सेवाको पहिलोपटक तेस्रो पक्षसँगको सहकार्यमा विस्तार गरिएको हो । ‘यो बैंकिङ सेवाका लागि एउटा कोसेढुंगा हो, किनकि यसले देशमा खुला बैंकिङको पहिलो पहललाई प्रतिनिधित्व गर्दछ,’ नबिल बैंकका अन्तर्राष्ट्रिय व्यापार तथा एनबैंकका नायब महाप्रबन्धक आदर्श बजगाईँले भने ।
यस सम्झौतामार्फत दुवै संस्थाले देशमा विप्रेषण प्रक्रियालाई सरल बनाउने उद्देश्य राखेका छन् । यसबाट नेपाली बैंकिङ क्षेत्रलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । नबिल बैंकले आफ्नो एनबैंक एपमार्फत एनरेमिट सेवा दिँदै आएको थियो । स्मार्ट आइडियाज प्रालिले नेपालमा मात्र नभएर विदेशमा रहेका नेपालीहरूमा पनि लोकप्रिय एप हाम्रो पात्रो सञ्चालन गरेको छ ।