मेलम्चीको पानी फुलपातिकाे दिन काठमाडौंबासीकाे धारामा झरिसक्ने-Sutra News

मेलम्चीको पानी फुलपातिकाे दिन काठमाडौंबासीकाे धारामा झरिसक्ने

मंगलबार, २२ असोज २०८१

मंगलबार, २२ असोज २०८१
फाइल तस्बिर ।

काठमाडाैं । मेलम्चीको पानी अबकाे तीन दिनभित्रमा काठमाडौं उपत्यकामा वितरण गरिने भएको छ । मेलम्चीका संघर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमबार भएको वार्तामा काठमाडौँमा मेलम्चीको पानी पठाउने सहमति भएको हो ।



मन्त्री यादवको नेतृत्वमा मेलम्ची विकास समितिका अधिकारीहरु तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको नेतृत्वमा स्थानीय संघर्ष समितिबीच सोमबार राति सहमति भएपछि सुरुङमा पानी पठाउने तयारी गरेको हो । मन्त्री यादवले स्थानीय राखेको माग पूरा गराउन दिनभर छलफल गरेका थिए ।

मन्त्री यादवसहितको टोली र मेलम्चीका संघर्ष समितिबीच पानी काठमाडौँमा लैजाने विषयमा भएको वार्तामा सङ्घर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गरिने सहमति भएपछि मेलम्चीको पानी काठमाडौँ आउने भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

“मेलम्चीको पानी काठमाडौँमा ल्याउने विषयमा सङ्घर्ष समितिसँग सहमति भएको छ । मेलम्चीबाट भोलिदेखि सुन्दरीजलमा पानी पथान्तरण गरिनेछ”, निर्देशक लामिछानेले भने ।

उनले ढिलोमा फूलपातीको दिनसम्म पानी उपत्यकावासीको धारामा झरिसक्ने बताएका छन् । उनका अनुसार मुहानमा मंगलबार बिहान सरसफाइ गरेपछि पानी सुरुङमा प्रवेश गराउने योजना छ ।

मेलम्चीको पानी पहिलो पटक २०७७ चैतमा काठमाडौंमा ल्याए पनि सोही वर्षदेखि नै बाढीपहिरोको कारण पटक–पटक समस्या बन्दै आएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट