काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावललाई पार्टीले जथाभावी नबोल्न चेतावनी दिएको छ । सोमबार एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णप्रसाद जैसीले एक विज्ञप्ति नै निकालेर यस्तो चेतावनी दिएका हुन् । विशेषगरी पार्टी सिद्धान्त विपरित सामाजिक सञ्जालमा लेख्ने, पार्टीभित्र अन्तरविरोध चर्काउने गरेको आरोप रावलमाथि लगाइएको छ ।
“पार्टी केन्द्रीय अध्यक्षसँग एक पटक संवाद भइसकेपछि निरन्तरता दिनुपर्नेमा बोलाएपछि मात्र जान्छु भन्ने र अन्य नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्जालमा लेखिरहने प्रवृत्ति पार्टीको लागि घातक हुने भएकाले केन्द्रीय अध्यक्षसँगै वार्ता अगाडि बढाउन तथा तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र शुभेच्छुकको बिचमा भ्रम नछर्ने चेतावनी दिन चाहन्छु”, जैसीले रावललाई चेतावनी दिँदै भनेका छन् ।
रावलले पार्टी अध्यक्ष केपी शर्मा ओली र अन्य नेताहरुको कार्यशैलीको विषयमा विरोध जनाउँदै आएका छन् । पछिल्लो समय उनले एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले दिएको अभिव्यक्तिबारे सामाजिक सञ्जालमार्फत खण्डन गरेका थिए ।
रावलले सामाजिक सञ्जालमा भट्टविरूद्ध लेखेको घटनापछि जैसीले विज्ञप्ति नै जारी गरेर चेतावनी दिएका हुन् । “पार्टी तथा विभिन्न मोर्चामा पाँच दशक लामो यात्रा गर्नुहुने र पार्टी तथा सरकारको उच्च ओहोदामा काम गर्ने अवसर र अनुभव प्राप्त व्यक्तिले पार्टी र आन्दोलनको पक्षमा मात्रै वकालत गर्न आन्दोलन गर्दै यस्तै गतिविधि बढ्दै गए तपाईंप्रतिको कार्यकर्ताको विश्वास झन् झन् टुट्दै जाने विषयको समेत ध्यानाकर्षण गराउन चाहन्छु,’ अध्यक्ष जैसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निवर्तमान उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावल गत पार्टी महाधिवेशनमा ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धी बनेका थिए । ओलीलाई चुनौति दिँदै चुनाव लडेका रावल महाधिवेशनमा हारेसँगै पार्टीभित्र भूमिकाबिहीन अवस्थामा छन् ।
पार्टीभित्र भूमिकाबिहीन बनेका रावलले सार्वजनिकरुपमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् । यद्यपि, उनको असन्तुष्टिलाई सम्बोधन गर्नेगरी पार्टी नेतृत्वमा कुनै पहल भएकाे छैन। बरु, रावललाई पार्टी छाड्न दबाब बढाइएकाे अवस्था छ । कतिपय बैठकमा समेत रावलले निम्ता पाएका छैनन् ।
रावल न पार्टी छाड्न सक्छन्, न त पार्टीभित्रै भूमिका पाउन । यद्यपि, उनी पार्टीभित्र रहँदै पार्टी नेताहरुकै विरुद्धमा बोल्दै आएका छन् । प्रदेश अध्यक्षसम्मले विज्ञप्ति निकालेर चेतावनी दिने तहमा पुग्नुले रावलको हविगत स्पष्ट पार्दछ ।