काठमाडौँ । बेलौरी नगरपालिका ५ स्थित पुष्पलाल स्मृति सामूदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जंगली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ ।
गएराति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से ४ प ८६१८ नम्बरको मोटरसाइकलमा वडा नं ६ स्थित ढक्का चाँदरस्थित घरतर्फ जाँदै गरेका चौधरीलाई हात्तीले आक्रमण गरेको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए ।
वन क्षेत्रमा हात्ती कराएको आवाज सुनेपछि उमेशसहित २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नवीन चौधरी मोटरसाइकल छाडेर भागेका थिए ।
मोटरसाइलमा सवार रोशन र नवीन सम्पर्कमा आए पनि उमेश सम्पर्कमा नआएपछि खोजतलास गर्दा मृतावस्थामा आज बिहान फेला परेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उमेश मृतावस्थामा फेला परेको स्थानमा जंगली हात्तीको दिसा रहेको र रुख मडारेको जस्तो देखिएको छ ।