दशैँका लागि दुई चित्तल मारेर लैजान लागेका युवक पक्राउ-Sutra News

दशैँका लागि दुई चित्तल मारेर लैजान लागेका युवक पक्राउ

मंगलबार, २२ असोज २०८१

मंगलबार, २२ असोज २०८१

काठमाडौँ । दशैँको अवसरमा चितवनको पञ्चकन्या सामुदायिक वनअगाडि रत्ननगर नगरपालिका ११ शीतल टोलमा दुई वटा चित्तल मारेर बोरामा लैजान लागेका एक जनालाई पक्राउ गरिएको छ ।



डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवी पौडेलका अनुसार कालिका नगरपालिका ६ घर भई वडा नम्बर ३ मा बसोबास गर्दै आएका ३१ वर्षीय उज्वल लामा पक्राउ परेका हुन् । निजको साथमा रहेको बोराभित्र दुई वटा मृत चित्तल राखेको भेटिएको थियो । पौडेलका अनुसार चित्तल गोली हानेर मारिएको हो ।

पक्राउ परेका लामासँगै अन्य चार मोटरसाइकल फेला परेको छ । उनीसँगै आएका मोटरसाइकलमा सवार केही व्यक्ति फरार भएका छन् ।

उनीहरूले गोली हानेर चित्तल मारेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रत्ननगर, डिभिजन वन कार्यालय, सशस्त्र वन रक्षक टोली र पञ्चकन्या सामुदायिक वनको संयुक्त टोलीले निजलाई पक्राउ गरेको हो ।

उक्त कार्यमा संलग्न फरार व्यक्तिहरुको खोजी भइरहेको पौडेलले बताए । वनभित्र गोलीको आवाज सुनिएपछि चित्तल मारेको आशङ्कामा उनीहरुको खोजी गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट