काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रा गर्न पर्यटक भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकै दिन दुई सय उडान भएका छन् ।
नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार रामेछापको मन्थली र काठमाडौँबाट एक सय ९८ वटा उडान भएका हुन् ।
हवाई जहाजले ६१ र हेलिकप्टरले १३९ उडान भरेका छन् । उक्त दिन एक हजार पाँच सय ३९ जना पर्यटक खुम्बु भित्रिएका छन् ।
पर्यटक लिएर काठमाडौँ र रामेछापको मन्थलीबाट आएका विमान प्रायः रित्तै फर्कने गरेका छन् । लुक्ला आउने पर्यटकको चाप हुने भएकाले फर्कनेको संख्या न्यून हुने गरेको तारा एयरलाइन्सका अमृत मगरले बताए ।
पदयात्राको याम सुरु भएसँगै पर्यटन व्यवसायीसमेत उत्साहित बनेको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाको भनाइ थियो । उनले भने, “अहिले हामीलाई पाहुनाको सत्कारमा भ्याइनभ्याइ छ ।”
पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायी पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् ।
त्यस क्षेत्रका बाटो, चौतारा तथा होटल, लज पर्यटकले भरिभराउ छन् । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले बताए ।