चार दिनमै २२ सयले घट्यो सुनको मूल्य-Sutra News

चार दिनमै २२ सयले घट्यो सुनको मूल्य

बुधबार, २३ असोज २०८१

बुधबार, २३ असोज २०८१

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य लागतार घटिरहेको छ । शुक्रबार उच्च बिन्दुमा पुगेर रेकर्ड बनाएको सुनको मूल्य यो साता लागेसँगै घट्न थालेको थियो । आइतबारदेखि घट्न थालेको सुनको मूल्य साताको चौथो कारोबार दिन बुधबार पनि उच्च दरले घटेको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला एक हजार रुपैयाँले घटेको छ । मूल्य घटेसँगै बुधबार सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

महासंघका अनुसार पछिल्लो चार कारोबार दिनको तुलनामा २२ सय रुपैयाँले मूल्य घटेको छ । शुक्रबार प्रतितोला एक लाख ६१ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य आइतबार तीन सय, सोमबार पाँच सय र मंगलबार चार सय रुपैयाँले घटेको थियो ।

सुनको मूल्य घटिरहँदा स्थानीय बजारमा चाँदीको मूल्य पनि ह्वात्तै घटेको छ । सुनको मूल्यसँगै निरन्तर घटिरहेको चाँदीको मूल्य मंगलबारको तुलनामा प्रतितोला ४० रुपैयाँले घट्दै बुधबार एक हजार नौ सय रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार तीन दिनदेखि चाँदीको मूल्य लगातार ओरालोमा छ । योबिचमा तोलामै ८० रुपैयाँले मूल्य घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यमा भइरहेकाे घटबढकाे प्रभाव स्थानीय बजारमा पर्ने गरेकाे छ । जसकाे प्रभावस्वरूप नै केही दिनदेखि मूल्यमा तिव्र घटबढ चलिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट