काठमाडौं । दसैंको बिदाको मेसो पारेर केपी शर्मा ओली नेतृत्वको सरकारले एकपछि अर्को कदम चाल्ने तयारी गरेको छ । बिदाको बिच विरोध कम हुने बुझाइसहित सरकारले यस्तो तयारी गरेको हो ।
जसमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्ती गर्नेदेखि रवि लामिछानेलाई पक्राउ गर्नेसम्मको तयारी भएको बुझिएको छ । सोही सिलसिलामा बुधवार प्रधानमन्त्री ओलीको सुझावअनुसार ऊर्जामन्त्री दीपक खड्काले बर्खास्ती गर्ने योजनासहित घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेका छन् ।
उनले विभिन्न समयमा प्राधिकरणबाट भएका खरिदका विषयदेखि प्राधिकरणको हिसाब किताबमाथि प्रश्न उठाएका छन् । विशेषगरी ट्रान्सफर्मर र बिजुलीका तारलगायतका टेण्डरलाई लिएर प्रश्न उठाएका छन् ।
मन्त्री खड्काले घिसिङलाई कारबाहीको तयारी गर्दै गर्दा प्राधिकरणको परम्परा मिच्दै कार्यकारी निर्देशकले बोलाउनु पर्ने बैठकसमेत एकल ढङ्गले बोलाएका छन् । यद्यपि, उनी आफैंले अन्तिम समय बैठकलाई स्थगित गरेका छन् । खड्काले एसएमएसमार्फत सञ्चालकहरुलाई बुधवार बिहान ११ बजेका लागि बैठक बोलाएका थिए ।
खड्काले स्पष्टीकरणमा कुलमानको ‘परफर्मेन्स’माथि पनि प्रश्न उठाएका छन् ।
प्रधानमन्त्री ओलीले यसअघि नै सार्वजनिक लेखा समितिमार्फत घिसिङलाई कारबाही गर्ने तयारीअनुसार निर्णय गराउन खोजेका थिए । यद्यपि, सत्ता साझेदार कांग्रेसभित्रैबाट विरोध भएपछि निर्णय फिर्ता भएको थियो ।
तर, अहिले दसैंको मेसोमा ओलीले पुनः उक्त तयारीलाई अगाडि बढाएको देखिन्छ ।
यहीबिच सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पनि पक्राउ गर्ने तयारीलाई अगाडि बढाएको बुझिएको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले लामिछानेसहित गोर्खा मिडियाका सञ्चालकहरुलाई दोषी ठहर गर्दै कारबाहीको लागि सिफारिस गरेको छ । जसमा जीवि राई फरार छन् भने छविलाल जोशी पक्राउ परेका छन् । यद्यपि, लामिछानेमाथि पक्राउ गर्ने तयारी गरिए पनि विरोध हुने सम्भावनालाई ध्यानमा राख्दै यसअघि सरकार ब्याक भएको थियो । तर, अहिले दसैंको मेसोमा सरकार लामिछानेलाई पक्राउ गर्ने तयारीमा देखिएको हो ।
एकीकृत समाजवादी फुटाउन अध्यादेशको तयारी
पार्टी गठनदेखि नै एकीकृत समाजवादीभित्र विवाद छ । जुन विवादको तह पछिल्लो महाधिवेशन र ओली नेतृत्वको सरकार गठनसँगै थप उचाईमा पुगेको छ ।
यहीबिच असन्तुष्ट समूह योजनाबद्धरुपमा पार्टी विभाजनको तयारीमा देखिएको छ । दसैंको सुरुवातसँगै पुनः विभाजनको खेल योजनाबद्धरुपमै अगाडि बढाइएको छ ।
असन्तुष्ट नेताहरू विभाजनको योजनाअनुरुप केन्द्रीय समितिको विशेष बैठक माग गरेका छन् भने केहीले प्रधानमन्त्री ओलीलाई भेटेर अध्यादेशको लागि सहजीकरण गर्न आग्रह गरेका छन् ।
एसभित्रको असन्तुष्ट समूहले मंगलबार पार्टी अध्यक्ष माधवकुमार नेपाललाई विद्रोहको संकेत गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए । जसमा पूर्वपदाधिकारीहरूसमेत रहेका नेताहरू जीवनराम श्रेष्ठ, डा. विजय पौडेल, हरि पराजुली, बलराम बाँस्कोटालगायत देखिएका छन् ।
केन्द्रीय समितिका सयभन्दा बढी नेताहरू यो समूहमा उभिएका छन् । उनीहरूले वर्तमान केन्द्रीय कमिटीलाई अवैध रहेको समेत दाबी गरेका छन् । उच्च स्रोत दसैँकै बिचमा विभाजनको विधि पूरा गर्ने अवस्था भएको बताउँछन् ।