‘फेस्टिभ मुड’ले प्रभावित भएन नेप्से, दसैंपछि उत्साह छाउने संकेत-Sutra News

‘फेस्टिभ मुड’ले प्रभावित भएन नेप्से, दसैंपछि उत्साह छाउने संकेत

बुधबार, २३ असोज २०८१

बुधबार, २३ असोज २०८१

काठमाडौं । दसैं बिदा प्रारम्भ हुनुअघिको अन्तिम कारोबार दिन (बुधबार) सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेर बन्द भएको छ । बुधबार ४.८५ अंकले बढ्दै नेप्से २६६८.१७ को बिन्दुमा उक्लिएको छ ।



दसैंको रमझमका कारण धेरै लगानीकर्ता सक्रिय नहुँदा नेप्सेमा खासै उतारचढावको अवस्था देखिएन । जसको प्रभाव कारोबार रकममा पनि परेको छ ।

आज ८३ लाख १२ हजार ६८५ कित्ता सेयर किनबेच हुँदा यस दिन कारोबार रकम ३ अर्ब ७६ करोड १५ लाखमै सीमित भयो । जुन केही कारोबार दिनयताकै निकै कम पनि हो ।

आज अधिकांश समूहको सूचकमा खास घटबढ भएन । १३ समूहमध्ये ४ समूहको सूचक घट्दा अन्यको बढ्यो ।

आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको सूचक १.०५ प्रतिशतले बढ्यो । कारोबारमा आएका २४३ कम्पनीमध्ये आज १३० को मूल्य बढ्यो भने १०२ को मूल्य घट्यो । ११ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

मिड सोलु पावरको मूल्यमा सकारात्मक सर्किट लाग्दा उपर सांगी हाइड्रोपावर र राप्ती हाइड्रोको मूल्यमा ९ प्रतिशतभन्दा बढीको बृद्धि भयो भने थ्रि स्टार हाइड्रो पावरको मूल्यमा भने नकारात्मक सर्किट लाग्यो । यसैगरी सिटिजन सुपर ३० फण्डको मूल्य पनि ९ प्रतिशतभन्दा बढीले घट्यो ।

आज कारोबार रकमका आधारमा नेपाल फाइनान्स, सानिमा बैंक, हिमालयन रि, साहस उर्जालगायतका कम्पनी शीर्ष स्थानमा रहे । नेपाल फाइनान्सको मात्रै २२ करोड १ लाख ५८ हजार कित्ता सेयर किनबेच भएको छ ।

विशेषगरी अर्थमन्त्रीको पछिल्लो सक्रियतासँगै नेप्सेमा उत्साह देखिन थालेको पाइन्छ । नीतिगत सुधारको काम सुरु हुँदै गर्दा पनि सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ ।

दसैंकै चापमा पनि नेप्सेमा देखिएको उत्साहपूर्ण कारोबारले दसैंसँगै थप उत्साहको अवस्था सिर्जना हुने संकेत गर्दछ । यस क्षेत्रका जानकार दसैं बिदा सकिएसँगै नेप्सेमा उत्साहको अवस्था देखिने विश्वास व्यक्त गर्दछन् ।

साधारण लगानीकर्ता संघका अध्यक्ष जगतजंग जिसीका अनुसार नेप्सेले करेक्सनको कोर्ष पुरा गरिसकेको छ, दसैंसँगै त्यसले थप उत्साहको बाटो लिनेछ ।

“करेक्सनको कोष पूरा भइसक्यो, दसैंको माहोलका बिचमा पनि उत्साहपूर्ण नै कारोबार र सूचकमा बृद्धि भयो”, उनले भनेका छन्, “दसैंसँगै त्यसले थप आकार लिन्छ, खास बुल दसैंपछिको कारोबारमा देखिन्छ ।”

विशेषगरी नीतिगत सुधारतर्फ सरकारले देखाएको तदारुकताले पनि उत्साहको बाटो लिने अवस्था बनेको उनको भनाई छ । मौद्रिक नीति समीक्षाले पनि नेप्सेलाई थप उत्साहित बनाउने जिसीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट