काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले नेपाल प्रहरीले आफूहरूलाई असहयोग गरेको आरोप लगाएका छन् । बुधबार गाैशाला धर्मशाला खाली गराउन पुगेको महानगर प्रहरी र मारवाडी सेवा समितिबीच झडप भएकाे घटनामा प्रहरीले हस्तक्षेप गरेपछि उनले यस्ताे आरोप लगाएका हुन् ।
गाैशालाकाे घटनाबाट देश कसले चलाइरहेको छ भन्ने पनि थाहा भएकाे बताए ।
‘नाजायज सम्बन्धबाट सम्झौता गरी गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितिले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौँदेखि केही हजार रुपैयाँ तिरेर हड्पेको जग्गा अदालतले दाबी पुग्दैन भनेर पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ । अनि कोषले महानगरलाई धर्मशाला असक्तहरूलाई निःशुल्क खाना र औषधि उपचार गर्न भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितिको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समितिबाट पो रहेछ’, साहले बुधबार फेसबुकमा लेखका छन् ।
हालै काठमाडौं जिल्ला अदालतले २१ वर्षअघि पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको सम्झौतालाई खारेज गर्ने निर्णयलाई सदर गरिदिएको थियो । सो फैसलापछि मारवाडी सेवा समितिले सित्तैमा भोग चलन गर्दै आएको पशुपति गौशाला धर्मशालामा क्षेत्र विकास कोषमै फर्किएको थियो ।
आफ्नो स्वामित्वमा फर्किएसँगै कोषले सञ्चालनको लागि महानगरसँग सम्झौता गरेको थियाे ।
तर, बुधबार धर्मशाला खाली गराउन पुग्दा मारवाडी सेवा सिमितले अवराेध गरेकाे थियाे । जसपश्चात झडपकाे अवस्था बनेकाे थियाे । जहाँ प्रहरीले सहयाेग नगरेपछि बालेन आक्राेशित भएका हुन् ।