काठमाडौं । फूलापातीको अवसरमा आज (बिहीबार)देखि तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ५’, विराज भट्टको ‘१२ गाउँ’ र जितु नेपालको ‘ज्वाइँ साब’ प्रदर्शनमा आएका हुन् ।
फिल्म प्रदर्शनको पहिलो दिन बिहीबार सबैभन्दा बढी शो ‘छक्का पञ्जा ५’ले पाएको छ । यस फिल्मले पहिलो दिन २२१ शो पाउँदा, ‘१२ गाउँ’ले १३५ र ‘ज्वाइँ साब’ले ९४ शो पायो ।
अग्रिम टिकट बुकिङलाई हेर्दा पनि ‘छक्का पञ्जा ५’ नै अग्रस्थानमा देखिन्छ । उपत्यकाभित्रकै कतिपय हलमा हाउसफूलको अवस्था देखिँदा बाहिरका हलहरुमा पनि निकै उत्साहजनक अवस्था देखियो ।
‘छक्का पञ्जा ५’को उत्साहमय सुरुवाती भइरहँदा ‘१२ गाउँ’को पनि बलियो उपस्थिति देखिएको छ । उपत्यकाभित्रका हलहरुमा उच्च टिकट बुकिङ्गको अवस्था देखिँदा बाहिर पनि उत्साहजनका बुकिङ्ग देखिन्छ ।
‘ज्वाइँ साब’को भने अग्रिम टिकट बुकिङ्ग त्यति उत्साहजनक देखिएको छैन । ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’को तुलनामा शोसँगै टिकट बुकिङ्गको अवस्था पनि कमजोर देखिन्छ ।
दीपाश्री निरौलाले निर्देशन गरेको ‘छक्का पञ्जा ५’ मा दीपक गिरीसहित केदार घिमिरे, निर्मल शर्मा, वर्षा राउत, रमेश बुढाथोकीलगायतको अभिनय छ । जुन ‘छक्का पञ्जा’को पाँचौ सिरिज पनि हो । ‘छक्का पञ्जा ५’ हाँस्यव्यंग्यलाई प्रधान बनाइएको फिल्म हो ।
यता, ‘१२ गाउँ’ अभिनेता विराज भट्टको एक्सन प्रधान फिल्म हो । जसमा उनले आफ्ना छोरा समीर भट्टलाई डेब्यु गराएका छन् । एक्सन प्रधान ‘१२ गाउँ’मा स्वयम् विराजसँगै समीर, पूर्वमिस इन्टरनेशनल न्यान्सी खड्का, सनिशा भट्टराई, मुरलीधर, कनिज कोइरालालगायतको अभियन रहेको छ ।
हाँस्य व्यंग्य जनरामा बनेको ‘ज्वाइँ साब’ जितु नेपाल मुख्य भूमिकामा रहेको फिल्म हो । बसन्त निरौला निर्देशित ‘ज्वाइँ साब’मा नीति शाह, बुद्धि तामाङ, हिमेश पन्तलगायतले अभियान गरेका छन् ।