काठमाडौं । भाटभटेनीका मालिक मिनबहादुर गुरुङ चरम विवादितमध्येका एक व्यापारी हुन् । उनी बालुवाटार जग्गा प्रकरणमा मात्रै होइन, थुप्रै घटनामा मुछिएका छन् ।
ललिता निवासको आधाभन्दा बढी जग्गा गुरुङको नाममा थियो । नक्कली मोही खडा गरेर गुरुङले सबैभन्दा बढी जग्गा आफन्त र नातागोतामात्रै होइन, विभिन्न व्यापारीलाई बेचेका थिए ।
जुन घटनामा अघिल्लो सरकारले छानबिनसमेत गरी कारबाहीको दायरामा ल्याएको थियो । तर, गुरुङ अदालती प्रक्रियाबाट धरौटीमा रिहा भए । उनी ललितानिवास काण्डमा दुई करोड ४६ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।
जुन विवादको घटना अझै सेलाएको छैन । अदालतले सरकारको नाममा जग्गा ल्याएपनि अझै पनि सो जग्गा सरकारी भइसकेको छैन ।
सँगै, व्यापारी गुरुङको देशैभरीका भाटभटेनी डिपार्टमेन्टल स्टोर पनि विवादरहित छैनन् । कतिपय सरकारी जग्गा मिचेकोमा विवादमा तानिएको छ त कतिपय मापदण्ड मिचेकोमा ।
तर, गुरुङ जहिले पनि सत्तासँग नजिक हुन्छन् र बदमासीमा संलग्न भइरहन्छन् । अहिले पनि सत्तारुढ नेकपा (एमाले)सँग उनको हिमचिम सामान्य खालको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषामा ‘राष्ट्रिय पुँजीपति’ गुरुङले अहिले एमालेलाई केन्द्रीय कार्यालय बनाउनै जग्गा दान दिएका छन् ।
कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरस्थितको १० रोपनी १४ आना जग्गा एमालेलाई दान गरेका हुन् । जहाँ शुक्रबार महानवमीको अवसरमा एमालेले केन्द्रीय कार्यालय भवनको शिलान्याश गरेको छ । जहाँ अब एमालेको केन्द्रीय कार्यालय बन्नेछ । एमालेले अत्याधुनिक भवन बनाउने योजना बनाएको छ ।
यसरी कहिल्यै घाटाको व्यापार नगर्ने गुरुङले यति ठूलो परिणाममा सहयोग गरिरहँदा प्रश्न उठेको छ । गुरुङले यति ठूलो सहयोग किन गरे ? सहयोग गर्नुको पछाडिको तात्पर्य के हो ? उनको स्वार्थ के हो ?
व्यापारीले बिना नाफामा कारोबार गरेको अहिलेसम्म देखिएको छैन । यस्तोमा सत्तारुढ एमालेबाट उनले के स्वार्थ पूरा गर्दैछन् । उनले के सर्तमा जग्गा दिए ? न यसमा एमालेले बोलेको छ न स्वयम् गुरुङले स्पष्ट पारेका छन् । कहिले माओवादी निकट त कहिले एमाले निकट देखिएका गुरुङलाई एमालेप्रति नै यति धेरै माया किन जाग्यो ?