राष्ट्रपतिले लगाइदिए प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका-Sutra News

राष्ट्रपतिले लगाइदिए प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका

शनिबार, २६ असोज २०८१

शनिबार, २६ असोज २०८१

काठमाडाैं । विजयादशमीकाे अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरेका छन् । उनीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल लगायत राष्ट्रपति निवास पुगेका थिए ।



राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो ३ बजेपछि अतिविशिष्ट व्यक्तित्वलाई राष्ट्रपति पौडेलले टीका तथा जमरा प्रदान गरेका थिए ।

टीका तथा जमरा ग्रहण गर्न उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङ, सांसद सपना राजभण्डारीलगायत राष्ट्रपति कार्यालय शितलनिवास पुग्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतले पनि राष्ट्रपति पौडेलसँग टीका तथा जमरा ग्रहण गरेका छन् ।

राष्ट्रपति पौडेलले आज अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका र जमरा लगाइदिएपछि इच्छुक सर्वसाधारणलाई पनि टीका र जमरा लगाइदिनुहुने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट