ओपनिङमा रेकर्ड तोडेको ‘छक्का पञ्जा ५’ले तीन दिनमै कमायो पाँच करोड-Sutra News

ओपनिङमा रेकर्ड तोडेको ‘छक्का पञ्जा ५’ले तीन दिनमै कमायो पाँच करोड

आइतबार, २७ असोज २०८१

आइतबार, २७ असोज २०८१

काठमाडौं । फूलपातीको अवसर पारेर असोज २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्कापञ्जा ५’ले बक्स अफिसमा तीन दिनमै पाँच करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको छ । ओपनिङमा दुई करोडभन्दा बढी ग्रस कलेक्सन गरेर रेकर्ड ब्रेक गरेको ‘छक्कापञ्जा ५’ले शनिबारसम्म पाँच करोडभन्दा बढी कमाई गरेको हो ।



फिल्मका निर्माता एवम् मुख्य अभिनेता दीपकराज गिरीले बताएअनुसार पाँच करोडभन्दा बढीको ग्रस कलेक्सन घरेलु फिल्म हलहरुको हो । उनका अनुसार फिल्मको कथावस्तु प्रस्तुतिलाई लिएर निकै राम्रो प्रतिक्रिया आइहेको छ ।

“तीन दिनको बिचमा भन्दा बढीको ग्रस कलेक्सन गरेको भन्ने छ, अधिकांश हलहरु हाउसफूल छन्, फिल्मको कथाले पनि निकै राम्रो प्रतिक्रिया पाइरहेको छ”, गिरीले भनेका छन् ।

फिल्मका वितरक मनोज राठीले जनाएअनुसार चौथो दिन आइतबारको व्यापार थप उत्साहपूर्ण छ । जसको पूर्ण तथ्यांक आउन बाँकी नै रहेको राठीले जनाएका छन् ।

हुन पनि अधिकांश हलहरु हाउसफूलको अवस्थामा छन् । शनिबारभन्दा आइतबारको अवस्था थप उत्साहजनक देखिन्छ ।

यदि अहिलेकै रेकर्ड ब्रेक आम्दानी गर्दै गएमा फिल्म यसअघिका सिरिजको भन्दा बढी आम्दानी गर्ने देखिन्छ ।

‘छक्का पञ्जा’ सिरिजको पाँचौं फिल्म ‘छक्का पञ्जा–५’मा हाँस्यव्यंग्यसँगै समाजका विभिन्न बेथितिमाथि प्रहार गरिएको छ । सरकारी सेवाभित्र भएको भ्रष्टाचार र अनियमितताको विषयलाई उठान गरिएको फिल्ममा दीपकसँगै केदार घिमिरे, वर्षा शिवाकोटीलगायत मुख्य भूमिकामा छन् ।

दीपककै कथा, पटकथा र संवाद रहेको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् ।

फूलपातीको अवसर पारेर ‘छक्का पञ्जा ५’सँगै जितु नेपालको ‘ज्वाइँ साब’ र विराज भट्टको ‘१२ गाउँ’ पनि प्रदर्शनमा आएका थिए । ‘ज्वाइँ साब’को व्यापार केही कमजोर देखिँदा ‘१२ गाउँ’को भने उत्साहपूर्ण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट