रेमिट्यान्सलाई सेयर मार्केटमा जोड्नुपर्छ [भिडियाेसहित]-Sutra News

रेमिट्यान्सलाई सेयर मार्केटमा जोड्नुपर्छ [भिडियाेसहित]

रेमिट्यान्सलाई सेयर बजारमार्फत उद्योगमा लगानी गर्नुपर्छ । खाडीबाट फर्किँदा युवाले लगानीको प्रतिफलसँगै रोजगारी पनि पाउन सक्छ ।

आइतबार, २७ असोज २०८१

आइतबार, २७ असोज २०८१

वर्तमान अवस्था



दसैँ अघिसम्मका कारोबारलाई हेर्दा, सेयर मार्केटले निकै राम्रो लक्षण देखाएको छ । ठुलो करेक्सनपछि मार्केटले पुनः पुरानै रफ्तारलाई समाउन खोजेको जस्तो संकेत गरेको छ । दसैंअघिका कारोबारलाई हेर्दा, मार्केटले पुनः बुल ट्रेन्डलाई पछ्याउँदै गरेको छ भन्दा अन्यथा हुँदैन । फेस्टिभ सिजनको स्वाभाविक चापले मार्केटलाई केही प्रभाव पारे पनि पूर्ण ट्रेन्डलाई प्रभावित बनाएन ।

झन्डै एक हजार अंकको वृद्धिपछि मार्केटमा करेक्सन आएको थियो । सेयर बजारमा लगानी गर्नेले पनि नाफाकै लागि लगानी गर्छन् । नाफा भएपछि बिक्री गर्छन् । बिक्रीको चाप बढ्न थालेपछि करेक्सन आउनु स्वाभाविक हो । यद्यपि, झन्डै ६ सय अंकको करेक्सन आउनुमा अन्य कारण पनि भएको पाइन्छ । जसमा सरकारदेखि ठुला लगानीकर्तासम्मको भूमिका जोडिएको छ ।

विशेषगरी नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्डको भूमिकालाई लिएर केही प्रश्नहरू उठेका छन् । कतिपय नेतृत्व तहका पात्रले सार्वजनिकरुपमा दिएका अभिव्यक्तिले पनि असर गरेको पाइन्छ ।

कांग्रेस–एमाले गठबन्धन सरकारले सेयर बजारको वृद्धिको श्रेय लिन खोजिरहेको छ । सरकारले यसको बुद्धिलाई आफ्नो सफलताको रूपमा पनि चर्चा गरेको छ । तर, सरकारले घट्नुको कारण पहिचान गरेन । कारणमाथि निष्पक्ष ढङ्गले आफूलाई उभ्याएन । सरकारले खुलेआम उठेका विषयमा कुनै एक्सन लिएन ।

किन नेप्सेको सिस्टममा समस्या आइरह्यो ? किन किनबेच प्रभावित भइरह्यो ? किन मार्केटमा डिमान्ड उच्च हुँदा हुँदै पनि सूचक घटिरह्यो ? किन एउटै ट्रेन्डमा मार्केटमा उतारचढाव भइरह्यो ? किन लगानीकर्ताले चाहेको स्क्रिप्ट किन्न पाएनन् ? यसको खोजी भएन । नेप्सेले ब्रोकरलाई दोष दियो, ब्रोकरले समग्र सिस्टमलाई दोष दिए । तर, निराकरण भएन । जसको निराकरण हुनु अहिलेको आवश्यकता हो । अर्थतन्त्रको सूचकको रूपमा सेयर मार्केटलाई बुझ्दै गर्दा यसलाई सही ट्रयाकमा हिँडाउन अहिले सरकारबाट हस्तक्षेप आवश्यक देखिन्छ । नीतिगत विषयमा स्पष्टता बनाउन आवश्यक देखिन्छ । यसलाई स्वतन्त्र हिसाबले चल्ने बनाउन आवश्यक छ ।

सेयर बजार र रोजगारी

हाम्रो अर्थतन्त्र अहिले रेमिट्यान्सबाट चलेको छ । यदि रेमिट्यान्स आउनमा समस्या हुने हो भने हाम्रो अर्थतन्त्र तत्कालै डामाडोल हुने अवस्थामा पुग्छ । त्यसले समग्र सिस्टमलाई हिट गर्छ । हाम्रो अर्थतन्त्रको संरचना करिब परनिर्भर खालकै छ । अहिले भएको अधिकांश लगानीहरू पनि उत्पादनमूलक क्षेत्रमा छैन । घर–जग्गा, भवन, विलासिताका वस्तुमा हाम्रा लगानी केन्द्रित छ । नयाँ रोजगारी पनि सिर्जना भइरहेको छैन भने उत्पादन पनि हुने अवस्था छैन ।

यसको लागि हामीले अहिलेदेखि नै तयारी गर्नुपर्छ । रेमिट्यान्सलाई उत्पादनमा जोड्ने नीति अघि सार्नुपर्छ । त्यसको उपयुक्त माध्यम सेयर बजार हो । सरकारले क्षेत्रगतरुपमा पहिचान गरी उत्पादनमूलक उद्योगहरू सञ्चालन गर्ने नीति ल्याउनु पर्छ । यदि त्यस्ता उद्योगहरू खोल्ने नीति अघि सारियो भने त्यसमा लगानी जुटाउन गाह्रो छैन । आइपिओमार्फत तत्कालको लागि आवश्यक लगानी जुटाउन सकिन्छ । एकातिर नेपालमा उद्योगहरू चल्छन् अर्कोतिर लगानीकर्ताका रूपमा ती खाडीमा काम गर्ने नेपाली हुन्छन् । उनीहरू फर्किँदा एकातिर आफूले गरेको लगानीको प्रतिफल पाउँछन् भने अर्कोतिर उनीहरू स्वयम् सीप बेच्न विदेश जानुपर्ने अवस्थाको अन्त्य हुन्छ ।

सँगसँगै सेयर बजारसँग सम्बन्धित सचेतनाको पनि ठुलो अभाव छ । त्यसतर्फ सरकारदेखि सबै निकायको भूमिका आवश्यक छ । यदि साक्षरता हुने हो भने ५०/६० लाख नागरिक होइन, तीन करोड नै जोडिने अवस्था बन्छ । त्यो भने यो क्षेत्रको स्थायित्व पनि हो । दसैँ तिहारमा दक्षिणा पनि नोट होइन, सेयर कित्ता दिने बानी बनाऔँ । जुन भविष्यको लागि ठुलो पुँजी हुन्छ ।

यो लेख भिडियोमा संवादमा आधारित छ । पूर्ण संवाद तलको लिंकमा हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट