तनावकाे केन्द्र बन्दै चाइना सी, चीनले सैन्य अभ्यास थाल्दा अमेरिकाले थाल्याे निगरानी-Sutra News

तनावकाे केन्द्र बन्दै चाइना सी, चीनले सैन्य अभ्यास थाल्दा अमेरिकाले थाल्याे निगरानी

सोमबार, २८ असोज २०८१

सोमबार, २८ असोज २०८१

काठमाडाैं । चीनले टापुराष्ट्र ताइवान वरपर सैन्य अभ्यास गरिरहेको छ। त्यसमा उसका स्थल, जल र वायुसेनाले सहभागिता जनाइरहेका छन्। चीनले आफ्नो सैन्य अभ्यासलाई उक्त स्वशासित टापुको “स्वतन्त्रता” खोज्नेविरुद्धको “कडा चेतावनी” भनेको छ।



चीनले ताइवानलाई घेरेर सुरु गरेको सैन्य अभ्यासलाई ताइवानका राष्ट्रपति विलियम लाईले गत साता गरेको एउटा भाषणको प्रतिक्रियाका रूपमा हेरिएको छ। उक्त भाषणमा उनले ताइवानलाई चीनमा गाभ्ने कार्यको प्रतिरोध गर्ने वाचा गरेका थिए।

ताइवानले के भन्यो ?

ताइवानको रक्षा मन्त्रालयले चीनको सैन्य अभ्यासलाई “तर्कसङ्गत नभएको र उत्तेजक व्यवहार” भनेको छ। उसले सैन्य अभ्यासको निन्दा गर्दै आफ्नो रक्षा गर्न आफूहरू तयार रहेको बताएको छ।

समुद्री तटहरूमा सैन्य अभ्यास भइरहेको भए पनि हवाई तथा सामुद्रिक यातायात सञ्चालनको अवस्था “सामान्य रहेको” ताइवानको यातायात मन्त्रालयले जनाएको छ। ताइवानको मुख्य सहयोगी देश अमेरिकाले उक्त सैन्य अभ्यासको निगरानी गरिरहेको जनाएको छ।

चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्त मान्छ र अन्ततः बेइजिङको नियन्त्रणमा ल्याउन सकिने ठान्छ। तर छुट्टै शासनव्यवस्था भएको ताइवानले आफूलाई मुख्यभूमि चीनभन्दा पृथक् ठान्छ।

यसै वर्षको सुरुमा लाइले ताइवानको राष्ट्रपतिका रूपमा शपथग्रहण गरेका थिए। त्यस बेला पनि चीनले ताइवानको वरिपरि सैन्य अभ्यास गरेको थियो।

चीनले के भन्यो ?

आफ्नो अभ्यासबारे चिनियाँ सेनाले सामाजिक सञ्जाल र अन्य माध्यमबाट विज्ञप्ति साझा गरेको छ। त्यो विज्ञप्तिले चीनको दृष्टिकोणबाट अभ्यास किन र कसरी भइरहेको छ भन्ने केही जानकारी पाइन्छ।

अभ्यासमा स्थल, जल र वायुसेना अनि रकेट फोर्स र अन्यको सहभागिता रहेको जनाइएको छ। त्यसमा चिनियाँ तटरक्षकले पनि भाग लिइरहेका छन्। विमान र सैन्य पानीजहाजहरू “धेरै दिशाबाट … नजिक आएको” र “संयुक्त आक्रमण”को अभ्यासमा सामेल भइरहेको विज्ञप्तिमा जनाइएको छ।

यी अभ्यासहरू लडाईँको तयारी, प्रमुख बन्दरगाहसहितका नाकाहरूमा नाकाबन्दी, समुद्री र स्थल आक्रमण अनि “व्यापक नियन्त्रण”मा केन्द्रित भएको त्यसमा उल्लेख गरिएको छ।

चिनियाँ सेनाले आफ्नो अभ्यासलाई “पृथकतावादी शक्तिहरूको व्यापक प्रतिरोधक” र “सार्वभौमसत्ता रक्षाका लागि राष्ट्रिय एकता कायम राख्ने वैध तथा आवश्यक कार्य” भनेको छ।

ताइवानका राष्ट्रपतिले के भने ?

ताइवानका राष्ट्रपति विलियम लाईले एउटा विज्ञप्ति जारी गर्दै आफ्नो देशको सेना र तटरक्षक “तैनाथ अवस्थामा रहेको” बताएका छन्।

उनले चिनियाँ सैन्य अभ्यास “क्षेत्रीय शान्ति र स्थायित्वमा बाधा पुर्‍याउने उद्देश्यले गरिएको” आरोप लगाएका छन्। ताइवानको लोकतान्त्रिक प्रणाली र राष्ट्रिय सुरक्षालाई “बाह्य चुनौतीको सामना गर्दै” रक्षा गर्ने प्रतिबद्धता पनि उनले दोहोर्‍याएका छन्।

यसअघि उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा चीनले “सैन्य उत्तेजनाबाट टाढा रहनुपर्ने” बताएको थियो।

निगरानी गर्दै अमेरिका

अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले ताइवान वरपर भइरहेको चीनको सैन्य अभ्यासको निगरानी गरिरहेको रोएटर्स समाचार संस्थाले जनाएको छ।

बाइडन प्रशासनले ताइवानी राष्ट्रपतिको “नियमित” भाषणपछि गरिएको उक्त अभ्यासको कुनै औचित्य नभएको बताएको छ। उसले चीनले त्यस क्षेत्रको शान्ति र स्थिरतालाई खतरामा पार्ने खालका थप गतिविधिबाट जोगिनु पर्नेमा जोड दिएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, “हामी जनवादी गणतन्त्र चीनलाई संयमसाथ काम गर्न र ताइवान स्ट्रेट तथा त्यहाँको बृहत् क्षेत्रमा शान्ति तथा स्थायित्व कमजोर पार्ने कुनै पनि थप कार्यहरू नगर्न आह्वान गर्छौँ। त्यो क्षेत्रीय शान्ति र समृद्धि अनि अन्तर्राष्ट्रिय चासोको विषय हो।” बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट