व्यवसायीको दानमा पार्टी कार्यालय : एमालेभित्रै हुन थाल्यो विरोध-Sutra News

व्यवसायीको दानमा पार्टी कार्यालय : एमालेभित्रै हुन थाल्यो विरोध

सोमबार, २८ असोज २०८१

सोमबार, २८ असोज २०८१

काठमाडौं । विवादित व्यवसायी मिनबहादुर गुरुङले सत्तारुढ नेकपा (एमाले)लाई केन्द्रीय पार्टी कार्यालय बनाउन करोडौं पर्ने जग्गा दिएको विषयले आमरुपमा तरंग उत्पन्न भयो । राजावादी कमल थापाले समेत ‘लज्जित भएको’ भन्दै सामाजिक सञ्जालमार्फत टिप्पणी गरे । उनले जग्गा लेनदेनको घटनालाई ‘भ्रष्टाचार’को रुपमा चित्रित गरे ।



“भगवान कोइरालाको बाल अस्पतालको निम्ति ४५ करोड दान दिएको सामाचारले मिनबहादुर गुरुङ्गप्रतिको मेरो सम्मान उत्कर्षमा थियो, जग्गादान सम्बन्धि एक समाचारले भने म लज्जित भएको छु”, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, “सरकारी जग्गा कब्जा सम्बन्धि अपराधमा अदालतमा मुद्दा चलिरहेको व्यक्तिसँग सत्तारुढ दलले दान÷सहयोग लिनुदिनु पनि भ्रष्टाचार हो । ‘कन्फील्ट अफ इन्टेस्ट’को उदाहरण हो ।”

कमल थापा नै लज्जित भएको यो घटनामा एमालेजनबाट भने खास प्रतिक्रिया आएन । आफ्नै पार्टी र नेतृत्वविरुद्ध नबोल्न र बोले कारबाही गर्ने उद्र्धि जारी गरिएको कारण अधिकांशले मौनता साँधे ।

तर, आमरुपमा प्रश्न उठ्न थालेपछि यो घटनालाई लिएर क्रमशः मौनता तोडिन थालेको छ । एमालेभित्रैबाट यो घटनामाथि प्रश्न उठाउन थालिएको छ ।
नेतृ बिन्दा पाण्डेले खुलेरै जग्गा दान लेनदेनको विरोध गरेकी छिन् । उनले यो घटनाले साढे ५ लाख पार्टी सदस्यको शिर झुकाएको र २८ लाख मतदाताको अपमान गरेको बताएकी छिन् ।

“साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो”, उनले भनेकी छिन्, “व्यापार व्यवसाय गर्नेले पारदर्शीरूपमा कम्पनीको सामाजिक दायित्वअन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो, तर राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो ।”

पाण्डेले जग्गा लेनदेनको घटनामा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र सामान्य तहमा पनि छलफल नगराएको बताएकी छिन् । उनले यो घटना पार्टीका लागि आत्मघाती हुने पनि निष्कर्ष सुनाएकी छिन् ।

पाण्डेले अगाडि भनेकी छिन्, “दिनेले किन र कसरी दिए, उनैलाई थाहा होला, तर स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा, जानकारीसमेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ ।”

मनमोहन अधिकारी र मदन भण्डारीले उँचो बनाएको इतिहास र पार्टी पंक्तिको स्वाभिमान बचाउन यो निर्णय सच्याउनुपर्ने आग्रह गरेकी छन् । “समय घर्किसकेको छैन, मनमोहन र मदनहरूले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेको स्वाभिमानी पार्टीपंक्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्छ, समयमै सोचौँ”, पाण्डेले भनेकी छिन् ।

२५ वर्ष पहिला मजदुर संगठन जिफन्टले बनाएको मनमोहन मजदुर भवनबारे चर्चा गर्दै पाण्डेले पछिल्लो घटनाले गर्व गर्ने अवस्था भएको हो त भन्दै प्रश्न गरेकी छिन् । “अभियानमा सहभागी हरेकले आज पनि जिफन्टको कार्यालय पुग्दा गर्व गर्छन् तर आज साढे पाँच लाख पार्टी सदस्य र मतका आधारमा सबैभन्दा ठूलो दलको कार्यालय निर्माणस्थल दानमा लिएर नेतृत्व गर्व गर्ने ठाउँमा पुगेकै हो ?”, पाण्डेको प्रश्न छ ।

हालै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालयको भवन शिल्यानास गरेका थिए । केन्द्रीय कार्यालय बनाउन शिल्यानास गरिएको उक्त १० रोपनी १४ आना जग्गा व्यवसायी गुरुङले दान स्वरुप दिएका हुन् ।

बालुवाटार जग्गा काण्डका मुख्य योजनाकारको रुपमा आरोपित गुरुङ अन्य काण्डहरुमा पनि मुछिएका छन् । बालुवाटारको जग्गा काण्डसम्बन्धी मुद्दा विचाराधिन रहेकै अवस्थामा सत्तारुढ एमालेलाई गुरुङले जग्गा दान दिएपछि स्वभाविक लेनदेनको रुपमा अथ्र्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट