जनार्दन स्वयम् नै किन लागे विप्लवसँग एकता गर्न ?-Sutra News

जनार्दन स्वयम् नै किन लागे विप्लवसँग एकता गर्न ?

मंगलबार, २९ असोज २०८१

मंगलबार, २९ असोज २०८१

काठमाडौं । माओवादी धारका विभिन्न पार्टीहरुबिच केही वर्षयतादेखि नै एकताको पहल भइरहेको छ । यद्यपि, विभिन्न कारणले पूर्णता पाउन सकिरहेको छ ।



पछिल्लो चरणमा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बिच लिखित सहमति गर्दै एकता गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेन । एकताको सहमति भङ्ग मात्रै भएन, एकताकै विषयले नेसपा नै फुट्यो ।

अहिले नेसपाको एउटा कित्ता महेन्द्रराय यादव समूह माओवादी केन्द्रसँग एकताको प्रक्रियामा छ भने भट्टराई नेतृत्वको समूह सहमतिबाट बाहिरिएको छ ।

योबिचमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पनि एकताको पहल भइरहेको छ । समाजवादी मोर्चा गठनदेखि नै एकताको पहल भएपनि माओवादी केन्द्र र विप्लवबिच निष्कर्ष निस्कन सकेको छैन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले विप्लवलाई भेटेर एकताको पहल गरेका थिए । विप्लवलाई पार्टी महासचिवका रुपमा भित्र्याउने प्रचण्डको तयारी थियो ।

तर, पार्टीभित्रैका गुटहरु एकताको विरुद्धमा उभिएपछि एकता प्रक्रिया भाँडियो । विशेषगरी माओवादी केन्द्रभित्र बलिया गुट चलाइरहेका उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन एकता भाँड्न अगाडि सरेको देखियो ।

जनार्दनले पदकै सुनिश्चिता गरेर एकता गर्ने विषय स्वीकार्य नभएको प्रतिक्रिया सञ्चार माध्यममार्फत नै दिएका थिए ।

तर, माओवादीभित्रको शक्ति समीकरण क्रमशः फेरिँदो छ । अहिले प्रचण्डको ठाउँमा स्वयं जनार्दन विप्लवसँग एकताको पहलमा जुटेका छन् ।

जनार्दनले विप्लवलाई उनकै निवास कपिलवस्तुको शिवराज नगरपालिका पुगेर भेटेका छन् । जनार्दनले समसामयिक राजनीतिसँगै विप्लवसँग एकतालाई मूर्तरुप दिने गरी छलफल गरेका छन् ।

नेकपा कपिलवस्तु सेक्रेटरी विनोद सीले जानकारी दिएअनुसार दुई नेताबिच छिट्टै पार्टी एकतालाई मूर्तरुप दिएर जानुपर्ने कोणबाट छलफल भएको छ ।

अहिले माओवादी केन्द्रभित्र जनार्दन स्वयं प्रचण्डको विकल्प खोज्न खुलारुपमै अगाडि सरेका छन् । उनले १४ पृष्ठको प्रतिवेदन लेखेर प्रचण्डलाई खुला चुनौति दिएका छन् ।

यद्यपि, प्रचण्डको विकल्प खोज्ने जनार्दनको प्रस्ताव आफैं अल्झिरहेको छ । यस्तोमा उनी विप्लवसँग एकताको पहलमा जुटेको देखिन्छ ।

माओवादी केन्द्रका एक नेताका अनुसार जनार्दनको यो पहल प्रचण्डविरोधी बलियो कित्ता बनाउने रणनीतिबाट प्रेरित देखिन्छ । उनले विप्लवलाई भित्र्याएर प्रचण्डविरोधी मोर्चा बनाउने मनसाय राखेको ति नेताले बताएका छन् ।

“विगतमा प्रचण्डको विप्लवलाई भित्र्याएर जनार्दन र वर्षमानलाई साइजमा राख्ने रणनीति थियो भने अहिले जनार्दनले सोही रणनीतिअनुसार विप्लवलाई भित्र्याएर प्रचण्डलाई एक्ल्याउने रणनीति बनाएका छन्”, ति नेताले भनेका छन्, “जे भएपनि एकता हुनु सुखद छ, यो पहलले मूर्तरुपमा पाउने देखिन्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट