काठमाडौं । दसैंपछिको दोस्रो कारोबार दिन (बुधबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा उत्साहपूर्वक बृद्धि भएको छ । नेप्से ४३.२२ अंकले बढ्दै २७४२.८८ को बिन्दुमा उक्लिएको छ । बुधबार समग्रमा नेप्से १.६० अंकले बढेको छ ।
सूचकसँगै नेप्सेमा कारोबार रकम पनि उत्साहरुपमै बृद्धि भएको छ । मंगलबार ३ अर्ब हाराहारीको कारोबार भएको नेप्सेमा बुधबार ५ अर्ब ६६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भयो । १ करोड ३२ लाख २४ हजार कित्ता सेयर किनबेच हुँदा सो कारोबार भएको थियो ।
बुधबार सबै समूहको सूचक बढेको छ । सबैभन्दा बढी व्यापार समूहको सूचक ३.४४ प्रतिशतले बढ्दा सबैभन्दा कम अन्य समूहको सूचक ०.५७ प्रतिशतले बढ्यो ।
कारोबारमा आएका २४४ कम्पनीमध्ये २०६ कम्पनीको मूल्य बढ्यो भने ३५ कम्पनीको मूल्य घट्यो । ३ कम्पनीको भने यस दिन मूल्य स्थिर रह्यो ।
बुधबार सबैभन्दा बढी विजय लघुवित्त ९.३३ प्रतिशत, इष्टन हाइड्रोपावर ९.२४, समता घरेलु लघुवित्त ८.६२, आत्मनिर्भर लघुवित्त ८.५९ र सगरमाथा जलविद्युतको ७.४५ प्रतिशतले मूल्य बढ्यो ।
बुधबारको कारोबारसँगै नेप्सेले बुलको यात्रालाई राम्रोसँग समातेको संकेत गरेको छ । एकातिर बैंकको ब्याजदर घट्नु र अर्कोतिर लाभांशको घोषणा हुन थाल्नुले लगानीकर्तालाई क्रमशः उत्साहित बनाउँदै लगेको संकेत गर्दछ ।
चाडपर्वको प्रभावले केही प्रभावित भएपनि बुधबारको कारोबारसँगै त्यसको प्रभाव पनि हट्दै गएको संकेत नेप्सेले देखाएको छ ।